अनलाइन जुवा (सट्टेबाजी) खेलाएको आरोपमा प्रहरीले चार जना भारतीय नागरिकसहित पाँच जनालाई दाङबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा डोटीको दिपायल सिलगढी नगरपालिका–३ का ३२ वर्षीय सागर राना र चार जना भारतीय नागरिक छन्।
पक्राउ पर्ने भारतीय नागरिकमा भारतको मध्यप्रदेशस्थित भोपालका २४ वर्षीय जसवन्तसिंह तोमर, २४ वर्षीय सत्यम राजपुत, २४ वर्षीय हर्ष सिंह भनिने हर्ष उसरेटे र २७ वर्षीय राहुल चन्द छन्।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरूले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा अनलाइन सट्टेबाजी गराउने गरेका थिए।
नेपालमा अहिले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट चलिरहेको छ।
त्यस्तै, सुर्खेतमा मंसिर ८ गतेदेखि १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुँदैछ। यस्ता खेलकुद प्रतियोगितामा अनलाइन सट्टेबाजी गराउने गरेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
लमही नगरपालिका–५ रातोडाँडास्थित ‘जस्मिन होटल एन्ड लज’मा छापा मारेर उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
होटलको तेस्रो तलामा रहेको २०३ नम्बरको कोठा भाडामा लिएर उनीहरूले अनलाइन जुवा खेलाउने गरेको प्रहरीको भनाइ छ।
गोप्य सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले शुक्रबार राति करिब १० बजे होटलमा खानतलासी गरेको थियो।
प्रहरीले उनीहरूले जुवा खेलाउन प्रयोग गर्ने दुई थान डेस्कटप कम्प्युटर, तीन थान ल्यापटप र १३ थान स्मार्टफोन बरामद गरेको छ।
उनीहरूले ‘कुश ७७७’ र ‘कुश एक्सचेन्ज’ एप्लिकेसनमार्फत अनलाइन जुवा खेलाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वडा प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।