सुनसरीमा गएराति र आज बिहान भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार गएराति कोशी गाउँपालिका–८ स्थित कोशी ब्यारेज नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार १९ वर्षीय जयप्रकाश यादवको मृत्यु भएको हो।
पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख ३४६३ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको को २२ प १६५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका यादवको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका–६ का सञ्जय रिजाललाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ।
यस्तै, आज बिहान दुहबी नगरपालिका–८ मा मोटरसाइकलको ठक्करबाट दुई पैदलयात्रीसहित चार जना घाइते भएका छन्।
इटहरीबाट दुहबी जाँदै गरेको कोशी प्रदेश ०२–०६२ प ७८७ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो।
घाइतेमध्ये नेपाल प्रहरीका हबल्दार रोहितकुमार राजवंशी पनि छन्। चारै जनाको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार हबल्दार राजवंशी र अजयकुमार चौधरीको अवस्था गम्भीर छ।
मोटरसाइकल चालकले मादक पदार्थ सेवन गरेको परीक्षणबाट खुलेको सूचना अधिकारी खड्काले बताए।