लमजुङको मध्यनेपाल नगरपालिका–३ का ६८ वर्षीय बुद्धिसागर पौडेलले फलाएको फर्सीको तौल १८ किलो २९० ग्राम छ।
आजीवन कृषि पेसामा बिताएका पौडेलले यो फर्सी मध्यनेपाल नगरपालिका–४, दुईपिप्लेमा शनिबार लाग्ने रैथाने हाटबजारमा बिक्रीका लागि ल्याएका हुन्।
उनका अनुसार यो पुरानो रैथाने जातको फर्सी हो।
उनले चैत–वैशाखतिर रोपेको फर्सी साउनदेखि जोगाएर राखेका थिए।
बाँदर तथा अन्य वन्यजन्तुबाट जोगाउन कात्तिकमै टिपेर सुरक्षित राखेको उनले बताए।
'जाँते फर्सी' नामले चिनिने यो प्रजातिको फर्सीको फलसँगै बियाँ पनि बिक्री गर्ने उनको योजना छ।
पौडेलले आफ्नै 'पौडेल नर्सरी कृषि पशु फर्म' मार्फत यसको बियाँ उत्पादन गरी अरू किसानलाई पनि उपलब्ध गराउन चाहेका छन्।
उनी बजारमा फर्सी बेच्न मात्रै आएका होइनन्, यसको बियाँ अरू किसानसम्म पुर्याएर रैथाने जातको संरक्षण र खेती विस्तार गर्न पनि चाहन्छन्।
'सबैलाई यसको बियाँ उपलब्ध होस् भन्ने उद्देश्यले हाटबजारमा ल्याएको हुँ,' उनले भने।
६८ वर्षको उमेरसम्म पनि कृषि कर्ममै रमाइरहेका पौडेलका लागि यो हाटबजार आफ्नो उत्पादन बेच्ने ठाउँ मात्र होइन, रैथाने बालीको बीउ जोगाउने र अरूलाई बाँड्ने अवसर पनि बनेको छ।

सबै तस्बिरहरू: सुरज गुरुङ/लमजुङ