भोजपुरमा चिराइतोको उत्पादन बढे पनि मूल्य घटेपछि किसान तथा व्यवसायी चिन्तित बनेका छन्।
गत वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्य प्रतिमन पाँच हजारदेखि १० हजार रुपैयाँसम्म घटेको छ।
टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका किसान तथा व्यवसायी उपेन्द्र राउतका अनुसार अहिले चिराइतो प्रतिमन (४० केजी) २० हजार रुपैयाँमा कारोबार भइरहेको छ।
गत वर्ष यही समयमा प्रतिमन २५ हजारदेखि ३० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको थियो।
यस वर्ष उत्पादन भने बढेको राउतले बताए।
उनका अनुसार तिम्मा क्षेत्रमा मात्रै करिब ५०० मन चिराइतो उत्पादन भएको छ। उत्पादन बढे पनि बजार मूल्य घटेकाले किसानले अपेक्षाअनुसार आम्दानी लिन सकेका छैनन्।
राउतले यस वर्ष हालसम्म करिब २०० मन चिराइतो संकलन गरिसकेका छन्।
बिक्रीका लागि आफ्नै घरमा समेत करिब १० मन चिराइतो रहेको उनले बताए।
उत्पादन भएको चिराइतो बिक्रीका लागि तयार भए पनि उचित मूल्य नपाउँदा किसान समस्यामा परेको उनको भनाइ छ।
चीनतर्फको नाका बन्द हुँदा चिराइतोको निकासी र बजार कारोबार प्रभावित भएकाले मूल्य घटेको राउतले बताए।
उनका अनुसार बजारमा माग र बिक्रीको अवस्थाले किसानले पाउने मूल्य निर्धारण गर्छ। बजार सहज नहुँदा उत्पादन बढे पनि किसानले राम्रो मूल्य पाउन सकेका छैनन्।
चिराइतो भोजपुरका पहाडी तथा उच्च पहाडी क्षेत्रमा उत्पादन हुने जडीबुटीजन्य नगदे बाली हो।
यहाँका किसानले व्यावसायिक खेतीसँगै प्राकृतिक रूपमा उम्रिएका चिराइतो संकलन गरेर बिक्री गर्दै आएका छन्। ग्रामीण क्षेत्रका किसानको आम्दानीको महत्वपूर्ण स्रोतका रूपमा रहेको चिराइतोको मूल्यमा हुने उतारचढाव र निकासीमा देखिने समस्याले उनीहरूको आम्दानीमा प्रत्यक्ष असर पार्ने गरेको छ।
स्थानीय किसानले चिराइतोको बजार व्यवस्थापन र उचित मूल्य पाउने व्यवस्था गर्न माग गरेका छन्।
उत्पादनअनुसार बजार सुनिश्चित गर्न सके यसबाट ग्रामीण क्षेत्रका किसानको आम्दानी बढाउन सकिने उनीहरूको भनाइ छ।