हामी आममान्छे
पछिल्लो समय अस्थायी रूपमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरमा बसोबास गर्दै आएका ४१ वर्षीय झनकबहादुर बस्नेतसँग तुलसीपुरमा भेट भयो। उनी दाङका स्थायी बासिन्दा हुन्। कुराकानी क्रममा उनी नेपाली कांग्रेसको १५ औं महाधिवेशन हेर्न भनेर दाङ आएका थिए।
हामीले उनलाई सोध्यौं–
पहिले आफ्नो बारेमा भन्नुहोस् न, परिवारमा को–को हुनुहुन्छ र के काम गर्नुहुन्छ?
म अस्थायी रूपमा बाँकेको नेपालगञ्ज–१२ बेलासपुरमा बस्छु। त्यहाँ हाम्रो आफ्नै घर छ। २०६४ सालमा त्यहाँ घर बनाएका हौं। मेरो स्थायी घर दाङ तुलसीपुर उपमहानगरपालिका–११ मा पर्छ। बेलासपुरमा आमा, श्रीमती, दुई छोरी र म बस्छौं।
मैले हालसालै बाँकेमा बृहस्पति यातायात प्रालि दर्ता गरी सञ्चालन सुरू गरेको छु।
आस्थाका आधारले म नेपाली कांग्रेसको समर्थक हुँ। म मेरो स्थायी घर भएको दाङमा चलिरहेको कांग्रेसको सोही १५ औं अधिवेशन कसरी चलिरहेको छ भनेर जान्न भनेर आएको हुँ।
तपाईं पनि कुनै पदको आकांक्षी हो?
म कुनै पदको उम्मेदवार होइन।
तपाईंको काम, कमाइ र घरखर्च अहिले कसरी चलिरहेको छ?
नढाँटी भन्नुपर्दा ऋणमै जिन्दगी चलेको छ।
विदेश जान कहिल्यै मनले मानेन। जे गरे पनि आफ्नै मातृभूमिमा पसिना चुहाउनुपर्छ भन्ने भावना छ। यही केही गर्छु भन्दाभन्दै देखाउन मिल्ने र उदाहरणीय कुनै काम हुन सकेको छैन।
मैले विगतमा व्यापार, बिजनेस वा पसलमा पनि हात हालेँ तर सोचे जस्तो सफलता मिलेन। निर्माण व्यवसायी भएर पनि सानोतिनो कामहरू गरेँ, त्यहाँ पनि मेरो मन रमाउन सकेन। व्यवसायमा घाटा हुँदा दाङस्थित केही पुर्ख्यौली सम्पत्तिसमेत बेचेँ।
तर म विचलित भएको छैन। मैले विगतमा जे गरेँ, त्यसबाट ठूलो अनुभव बटुलेँ। अब भविष्यमा त्यसलाई शिक्षाको रूपमा ग्रहण गर्दै अगाडि बढ्ने सोचेको छु।
अहिले तपाईं र तपाईंको परिवारलाई सबैभन्दा बढी चिन्ता लागेको कुरा के हो?
सबैभन्दा बढी चिन्ता बच्चाको भविष्यलाई लिएर हुन्छ। उनीहरूको उच्च शिक्षा–दीक्षा कसरी पूरा होला भन्ने सोचले सताउँछ।
अर्कोतर्फ समाज दिनदिनै असहिष्णु हुँदै गएकोप्रति चिन्ता लाग्छ। आउने दिन कस्ता होलान् भन्ने चिन्ता लाग्छ। असहिष्णु, अनैतिक र अधैर्य बन्दै गरेको समाजमा मेरा बच्चाहरूलाई कसरी जोगाउला भन्ने चिन्ता लाग्छ।
तपाईंका सन्तान नेपालमै केही गर्न चाहन्छन् कि विदेश जान चाहन्छन्, किन?
हरेक घरका युवा सकभर विदेश नै जान चाहन्छन्। यो हरेक घर–समाजमा एउटा ट्रेन्ड नै चलेको छ। तर म मेरा बच्चाहरूलाई कमाउनकै लागि विदेश जान हुन्न भनेर सम्झाइरहेको छु।
विगतमा नेपाली समाजमा आफूलाई खुसी र सुखी तुल्याउने आफ्नै कला, कौशल र कर्महरू थिए। जीवन खुसी बनाउन छाडेर पैसा कमाउन मात्रै सोचमा डुब्दा, गाडी र बंगला ठड्याउने सपनाको पछि लाग्दा मानिसले दुःख पाएको छ। सबै कुरा त्यागेर पैसा कसको लागि कमाउने, गाडी र पैसा थुपार्दैमा सन्तुष्टि मिल्दैन भन्ने कुरा बुझेको देखिँदैन।
मलाई लाग्छ– पछिल्लो पुस्ता तीव्र होडबाजीमा रमाउन उद्यत छ।
जेनजी आन्दोलन हुँदा तपाईंलाई के लागेको थियो?
एकाएक भड्किएको हिंसा र तोडफोड देख्दा नमज्जा लागेको थियो। देश नै विघटन हुने पो हो कि भन्ने त्रास जागेको थियो। यसरी हरेक परिवर्तनमा देशले क्षति बेहोर्दै जाने हो भने मुलुक कहिले उँभो लाग्छ?
पञ्चायतविरूद्धको आन्दोलनमा त्यस्तै भयो, प्रजातन्त्रको पुनः स्थापनापछि नेपाली समाज खुला र आधुनिक बन्दै गयो। पहिला गाउँघरमा खरकै छाना भए पनि त्यो फेर्दा गाउँभरका मानिस जम्मा भई एकअर्कालाई सघाउँथे।
यति सहिष्णु र सहयोगी समाज थियो कि, गाईभैंसी नपाल्नेले पनि अरूको सहयोगमै वा मागेरै खिर खान पाउँथ्यो। सामाजिक एकता मजबुत थियो। माओवादी युद्धपछि एक नेपाली अर्को नेपालीलाई देख्दा डराउनुपर्ने दिन थिए।
आज जेनजी आन्दोलनपछि अझै हामी बलियो राज्यका रूपमा संस्थागत भइसकेका रहेनछौं, राज्यका अंग सबै फेल रहेछन् भन्ने मात्रै प्रमाणित भएन, परेको दिन आफ्नो सुरक्षा आफै गर्नुपर्दो रहेछ भन्ने पाठ सिकाएको छ।
युवाहरू किन सडकमा आएका हुन् जस्तो लाग्छ? उनीहरू सबैभन्दा बढी के कुराले रिसाएका थिए?
सबभन्दा ठूलो कुरा त स्थानीयदेखि केन्द्रसम्मका राजनीतिक दलका नेताका रबाफ, उनीहरूको जीवनशैलीप्रति सर्वसाधारण वाक्कदिक्क भइसकेका थिए। आम नागरिकलाई सबैभन्दा ठूलो रिस त्यसैमा थियो भन्ने मलाई लाग्छ।
अर्को कुरा नेपोबेबीका कुराहरू पनि थिए। योजनाबद्ध रूपमा लेखिएका किन नहुन्, केही स्थापित भनिएका सञ्चारकर्मीले लेखेका त्यस्ता स्टोरीले आम सर्वसाधारणको दिमाग एकाएक विस्फोट हुन पुग्यो कि भन्ने म ठान्छु।
नियमनका नाममा सामाजिक सञ्जालमाथि एकाएक राज्यद्वारा लगाइएको प्रतिबन्धको आक्रोश पनि मिसिएको थियो।
त्यो आन्दोलनको के कुरा तपाईंलाई ठिक लाग्यो, के कुरा बेठिक लाग्यो?
त्यो आन्दोलनको सबैभन्दा नराम्रो पक्ष भनेको निर्जीव वस्तुमाथिको उपद्रो थियो। त्यो आन्दोलनपछि जेनेरेसन ग्यापको दुरी झनै बढ्यो कि जस्तो लाग्न थालेको छ।
एकातिर घरका अभिभावकले घर कन्ट्रोल गर्न खोजेको परिस्थिति छ भने अर्कोतिर आफूलाई जानेबुझेका वा पढेलेखेका भनाउँदा विदेशमा बस्ने उनीहरूका सन्तानहरू घर नै हाइज्याक गर्न खोजिरहेको जस्तो लाग्छ।
यहाँनेर मैले भन्न खोजेको भौतिक चीजवस्तु मात्रै होइन, हाम्रा रीतिथिति, मौलिक सभ्यता र परम्परामाथि तीव्र आक्रमण छ।
हाम्रा अभिभावकमा अहिलेका नवयुवामा जस्तै औपचारिक शिक्षा र ज्ञानको कमी होला तर सत्य के हो भने जीवनका मूलभूत सिद्धान्तमा उनीहरू निकै अनुभवी छन्। त्यसको कदर हुनुपर्छ।
आन्दोलनपछि देशमा केही राम्रो भए जस्तो लाग्छ कि, पहिले जस्तै छ?
आशावादी हुनुको विकल्प छैन। सकारात्मकताले नै परिवर्तनको सम्भावनालाई डोहोर्याउँछ, स्थापित गर्छ। हालसम्म आम सर्वसाधारणको अपेक्षाअनुसार काम गरेको गतिलो उदाहरण यो हो भन्ने छ जस्तो लाग्दैन।
तपाईं र तपाईंको परिवारको जिन्दगी अब राम्रो हुन्छ भन्ने लाग्छ कि पहिले जस्तै हो भन्ने लाग्छ?
पक्कै हो, लोककल्याणकारी राज्यसँग हरेक परिवारको भविष्य र जिन्दगी जोडिएको हुन्छ। के बुझ्नुपर्छ भने राज्य डगमगाउँदा म र मेरो परिवारको जिन्दगी पनि सँगै डगमगाउँछ। सबभन्दा ठूलो कुरा यो सरकारले महँगी नियन्त्रण गर्नतर्फ ध्यान दिन सकेको छैन।
सरकारी विद्यालय झन् झन् कमजोर बन्दै जाँदा निजी विद्यालयको शिक्षा यति महँगो छ, बच्चाको फी तिर्न नै अभिभावकलाई सकस छ। सरकारी अस्पतालहरूको अवस्था त्यस्तै छ। जसले गर्दा सर्वसाधारण निजी अस्पतालहरू जानुपर्ने बाध्यता छ।
अहिले प्रतिव्यक्ति आय, निजी स्कुल शिक्षा र निजी अस्पतालको शिक्षा यति चर्को छ कि हाम्रो सबै कमाइ त्यसमै ठिक्क हुने अवस्था छ। हरेक इमानदार व्यक्तिलाई सहज रूपमा मेहनतको कमाइले घरगृहस्थी चलाउनै समस्या छ। त्यसैले मलाई लाग्छ, अहिले पनि मुलुकमा नौटंकी मात्रै चलिरहेको छ।
यो सरकारले गरेका राम्रा काम र गर्न नसकेका काम के–के हुन्?
मलाई लाग्छ, यो सरकार इतिहासकै दुई तिहाइ बहुमत नजिकको एक शक्तिशाली सरकार हो। सुरूमा सरकारी कार्यालयहरूमा थालिएको सुधारको प्रयासप्रति म निकै आशावादी थिएँ। सरकारका चालढाल हेर्दा मलाई सुरूमा लागेको थियो, यो सरकार भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँछ।
तर छिट्टै त्यो मेरो आशा चकनाचुर भयो। अड्डा अदालत र सरकारी कार्यालयमा फेरि उस्तै भनसुन तथा पैसाको चलखेल सुरू भइसकेको छ। सरकारी कार्यालयका सफ्टवेयर महिनौं चल्दैनन्। जनताले दुःख पाइरहेका छन्।
राज्यले चाहेमा यस्तो प्राविधिक कुरा छिट्टै हल गर्न मिल्छ होला। यो सरकारले फेरि ठेक्कापट्टाको काम पुरानै प्रणाली अर्थात् हार्डकपी बुझाउनुपर्ने नियम ल्याएछ। त्यो भनेको फेरि गुन्डागर्दीलाई प्रश्रय दिन खोजेको हो? र, मलाई के पनि विश्वास छ भने राज्यको नेतृत्व अडिग र पारदर्शी भएमा यी सबै कुरा फेरि नियन्त्रण गर्न सम्भव छ।
पुराना पार्टी र नेताहरू आन्दोलनपछि सुधारिए कि उस्तै छन्?
नेपाली कांग्रेसभित्र युवाले ठूलो हिम्मत गरेको मान्नुपर्छ। अरू लगभग उस्तै छन्। सुध्रिएको भए किन यस्तो अवस्था आउँथ्यो होला र? राज्यका अंगहरू किन फेल भए, समयमै त्यसको समीक्षा गर्दै माफी मागेको देखियो त?
धनी र गरिबका बच्चाले पढ्ने शिक्षा किन फरक फरक छ? के त्यसको समीक्षा गरे त? ती काम गरेका भए त्यस्तो अवस्था आउँथ्यो होला त!
अहिले कुन पार्टीले देशलाई सही बाटोमा लैजान सक्छ जस्तो लाग्छ?
देशलाई अगाडि बढाउने वा डोहोर्याउने पार्टीले होइन, सिद्धान्तले हो। पछिल्लो समय नेपाली कांग्रेस विचार र सिद्धान्तविहीन बन्दा मुलुकले यति क्षति बेहोर्नुपरेको हो।
कांग्रेसले बिपी कोइराला लगायत नेताहरूले प्रतिपादन गरेका आफ्ना विचार र सिद्धान्तहरू समयअनुकूल परिष्कृत तथा स्थापित गर्दै अगाडि नबढे मुलुकले भविष्यमा पनि कल्पना नगरेको क्षति बेहोर्नुपर्ने हुन सक्छ।
मलाई लाग्छ, राजसंस्थापछि देश सबभन्दा राम्रोसँग सम्हाल्न सक्ने पार्टी कांग्रेस नै हो। तर कांग्रेसले आफ्नो कोर्स करेक्सन गर्न जरूरी छ।
तपाईंलाई अहिले आशा लागेका तीन जना नेता को को हुन्?
अहिलेको समकालीन राजनीतिमा मैले देखेको सबैभन्दा उपयुक्त पात्र गगन थापा नै हो। राष्ट्रियता र जनताको हितलाई सर्वोपरि ठानेर अगाडि बढे देश हाँक्न सक्ने क्षमता उनैमा छ।
उनी जत्तिकै नेता निर्वाचनमा प्राविधिक रूपमा पराजित हुनु दुर्भाग्य हो। मतदाताको मत व्यक्त गर्ने शैली देखेर पनि अनौठो लाग्छ। यहाँ कुलमान घिसिङहरू पराजित भएका उदाहरण छन्।
अरू दुई आशा लागेका नेता को हुन् नि? अनि गगनले के गरून् भन्ने चाहनुहुन्छ?
आश गरेका एक नेता खुमबहादुर खड्का थिए। आज उनी छैनन्। अरू पार्टीका नेताबारे थप बुझ्दै छु।
गगन विद्यार्थी राजनीतिबाटै खारिएका एक क्रान्तिकारी स्वभावका व्यक्ति हुन्। गणतन्त्रको नारा लगाउनेहरू गगनहरू नै थिए। समय, काल, परिस्थिति र युवाको भावना बुझेका उनले एक पटक देशको नेतृत्व गर्न अवसर पाए मुलुकमा थिति बस्थ्यो कि भन्ने आशा छ।
पहिले व्यक्ति पूजा गर्ने प्रवृत्तिले पार्टीको यस्तो हालत भएको हो। अब व्यक्ति होइन, सिद्धान्त र प्रणाली विकास गरिनुपर्छ।
सेतोपाटी शृंखला 'हामी आममान्छे' पढ्न यहाँ क्लिक गर्नुहोस् — हामी आममान्छे