हामी आममान्छे
(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने लोकतन्त्रमा महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँका आममान्छेसँग कुरा गरेको छ। जेनजी आन्दोलनपछि सरकारको कामबारे, राजनीतिक दल र नेताहरूबारे उनीहरूको धारणा बुझ्ने प्रयास गरेको छ। त्यस्तै राज्यको सेवा प्रवाह र राजनीतिक परिवर्तनले उनीहरूको दैनिक जीवनमा पारेको प्रभावलाई उनीहरूले कसरी अनुभूत गरिरहेका छन् भन्ने पनि सोधेको छ – सम्पादकीय नोट)
रूपन्देही, तिलोत्तमा नगरपालिका वडा नम्बर ७ भलवारिका ५५ वर्षीय राजकुमार श्रेष्ठलाई हामीले एक साँझ उनकै घरअगाडि पेटीमा भेट्यौं।
हामीले उनलाई सोध्यौं —
पहिले आफ्नो बारेमा भन्नुस् न, के काम गर्नुहुन्छ?
अहिलेसम्म काम धेरै गरेँ। फेन्सी कपडा पसल चलाएँ। आलुमिनियम फलामको पसल गरेँ। पित्तलका भाँडाहरू, मूर्तिहरू बनाउने उद्योग पनि चलाएँ। गाडीहरूको काम पनि गरेँ। हल्काफुल्का जग्गा किनबेचको काम पनि गरेँ। अहिले उद्योग अलिअलि चलेको छ।
तपाईंको घर खर्च अहिले कसरी चलिरहेको छ?
त्यही उद्योग अलिअलि चलेको छ। महिनामा ५०/६० हजार रूपैयाँ आम्दानी हुन्छ, त्यसैबाट चलेको छ।
घरमा को को हुनुहुन्छ?
श्रीमती, दुई छोरी र एक छोरा छन्। छोराछोरीको विवाह गर्ने उमेर भएको छ।
अहिले तपाईं र तपाईंको परिवारलाई सबैभन्दा बढी चिन्ता लागेको कुरा के हो?
त्यति धेरै चिन्ता त केही छैन। छोराछोरीको विवाह गरेर उनीहरूलाई केही पेसामा लगाउन पाए हुन्थ्यो भन्ने छ।
तपाईंको छोराछोरीहरू नेपालमै केही गर्न चाहन्छन् कि विदेश जान चाहन्छन्?
छोराले विदेश जाने भन्दै हिँडिरहेको छ। छोरीहरू त अहिलेसम्म जाने भनेका छैनन्।
युवाहरू किन विदेश जान खोज्छन् होला?
नेपालमा के छ र बस्नलाई! व्यापार व्यवसाय गरे केही चल्दैन, जागिर पाइँदैन, युवाहरू के गरेर नेपाल बस्ने? हामी पनि छोराछोरीलाई नेपालमा रोक्न नसक्ने अवस्थामा पुग्यौं। देशको अवस्था नै राम्रो छैन। अहिलेका युवाहरू नियम कानुन, सिस्टम खोज्छन्। नेपालमा त्यही नै छैन।
नियम कानुन मान्ने त जनताले पनि होइन र?
हो नि, हुन त। तर सरकारले नियम कानुन मान्नेलाई प्रोत्साहन गर्नुपर्यो, नमान्नेलाई कारबाही गर्नुपर्यो। नियम नमान्नेलाई पनि कुनै कारबाही नभएपछि मान्नेले पनि मान्न छोड्छ नि।
जेनजी आन्दोलन हुँदा तपाईंलाई के लागेको थियो?
अब देशमा विकास हुन्छ, देश बन्छ। युवाहरूले रोजगारी पाउँछन्। गलत गर्नेलाई कारबाही हुन्छ भन्ने लागेको थियो। जसरी देशमा दलीयकरण भइरहेको थियो, अब त्यो हट्छ। सबैले बराबर अवसर पाउँछन्। सबै स्वतन्त्र हुन्छन् भन्ने लागेको थियो।
तपाईंले सोच्नुभए जस्तै भयो त?
कहाँ हुनु! जेनजीले जे सोचेर आन्दोलन गरेका थिए, त्यो त हुँदै भएको छैन। जेनजीहरू स्वतन्त्र रूपमा सडकमा निस्किएका थिए, कुनै पनि पार्टीको पछि लागेर आन्दोलन गरेकै थिएनन्। तर आन्दोलनपछि त्यसको जस र फाइदा कुनै अमुक दलले लिएजस्तो लाग्छ।
जेनजीको माग भनेकै स्वतन्त्र थियो, तर अहिले पनि कुनै पनि पार्टीमा लाग्नै पर्ने बाध्यता जस्तो छ। अझ सत्तामा रहेको पार्टीले आफू नजिककालाई मात्र हेरेको जस्तो लाग्छ।
युवाहरू किन सडकमा आएका हुन् जस्तो लाग्छ? उनीहरू सबैभन्दा बढी के कुराले रिसाएका थिए?
देशमा रोजगारी भएन। भ्रष्टाचार भयो, सुशासन भएन भनेर सडकमा आएका थिए।
त्यो आन्दोलनको के कुरा तपाईंलाई ठिक लाग्यो, के कुरा बेठिक लाग्यो?
देशमा सुशासका लागि भनेर जसरी युवाहरू एक भएर आन्दोलनमा ओर्लिए, त्यो राम्रो थियो। तर आन्दोलन कसले, कसरी, कहाँ लग्यो भन्ने कसैलाई पत्तै भएन। नियन्त्रणभन्दा बाहिर गएर देशमा धेरै ठूलो क्षति भयो। कति युवा मरे, प्रहरी मरे, सरकारी सम्पत्ति, व्यक्तिका सम्पत्ति धेरै आगो लगाएर नष्ट गरियो, त्यो राम्रो लागेन।
आन्दोलनपछि देशमा केही राम्रो भएजस्तो लाग्छ कि पहिलेजस्तै छ?
आन्दोलनपछि केही त राम्रो भएको छ। धेरै हुन सकेको छैन।
के राम्रो भएको पाउनुभयो?
पहिले जनताको कुरा कम सुनिन्थ्यो, अहिले केही भए पनि सुन्न थालिएको छ। पहिले सरकारी कार्यालयका कर्मचारीहरूले टेर्ने थिएनन्, विभिन्न बहाना बनाएर आलटाल गर्थे, अहिले केही सुधार भएको छ। तर जसरी पुराना नेताहरूले भ्रष्टाचार गरे भन्ने आरोप लाग्थ्यो, अहिलेको सरकारले पनि उनीहरूलाई कारबाही गर्न सकेन।
अहिले उनीहरूलाई कारबाही गर्न नसक्दा पुरानालाई लगाएको आरोप गलत रहेछ कि भन्ने लागेको छ।
देश अब राम्रो हुन्छ भन्ने लाग्छ कि उस्तै हो भन्ने लाग्छ?
राम्रो त हुनै पर्छ। देशलाई राम्रो बनाउन कानुनलाई बलियो बनाउन जरूरी छ। कानुन बलियो बनाएर त्यसको पालना मात्र गर्ने हो भने पनि देश आजभन्दा भोलि राम्रो बन्छ।
तपाईं र तपाईंको परिवारको जिन्दगी अब राम्रो हुन्छ भन्ने लाग्छ कि पहिले जस्तै हो भन्ने लाग्छ?
परिवारमा अहिलेभन्दा भोलिका लागि राम्रो बनाउने छोराछोरीले हो। उनीहरू नेपालमै बसेर त केही होला जस्तो लाग्दैन। विदेश गएर पैसा कमाए भने परिवारको अवस्था पनि राम्रो बन्छ।
अहिलेको सरकारले राम्रो काम गरिरहेको छ जस्तो लाग्छ कि चित्त बुझ्दो काम गर्न सकेको छैन?
अहिलेको सरकारले मालपोत, यातायात जस्ता कार्यालयहरूमा जसरी अनलाइनबाट सेवा सुरू गराएको छ, त्यो राम्रो लागेको छ।
यो सरकारले गरेका राम्रा काम र गर्न नसकेका काम के के हुन्?
सरकारी कार्यालयहरूको सेवा प्रवाहलाई केही सुधार गर्न थालेको छ, त्यो राम्रो छ। तर राज्यको खर्च कटौती गर्न नसक्नु सरकारको कमजोरी लाग्छ। सरकारमा रहेका एउटै मन्त्रीका सल्लाहकार नै तीन, चार दर्जन पुग्न थाले। सचिवालयको संख्या बढाउनु भनेको खर्च बढाउनु हो। खर्च कटौती गर्नुपर्थ्यो नि। पहिले प्रदेश खारेज गर्ने भने, अहिले सरकारमा पुगेपछि हटाउन सकेका छैनन्। सरकारको काम भन्ने एउटा, गर्ने अर्को जस्तो भयो।
पुराना पार्टी र नेताहरू आन्दोलनपछि सुधारिए कि उस्तै छन्?
खोइ, सुध्रिए जस्तो लाग्दैन।
किन सुधारिए जस्तो लाग्दैन?
हिजो जो नेतृत्वमा थियो, आज पनि उनीहरू नै नेतृत्वमा छन्। जेनजीको भावना त त्यो थिएन नि। केपी ओलीको हुंकार हेर्नु न, अहिले पनि कस्तो छ! शेरबहादुर देउवा विदेशबाट फर्किएपछि फेरि नेतृत्वकै लागि लागेको देखिन्छ। कहाँ सुध्रिए त?
अहिले कुन पार्टीले देशलाई सही बाटोमा लैजान सक्छ जस्तो लाग्छ?
अहिलेसम्म हेर्दा त कुनै पनि पार्टीले देशलाई अगाडि बढाउन सक्छ जस्तो लाग्दैन। अहिलेको अवस्थामा कुनै एउटा पार्टीले भन्दा पार्टीभन्दा बाहिर रहेर देशलाई अगाडि बढाउनुपर्ने हो। कुनै पनि पार्टीमा नभएर स्वतन्त्र रूपमा जो व्यक्ति आउँछ, उसैले देशलाई अगाडि बढाउन सक्छ।
बालेन शाह काठमाडौंको मेयरमा स्वतन्त्र रूपमा उठेर काम गरेका थिए। अहिले एउटा पार्टीबाट उठेपछि पार्टीभित्र र बाहिरसमेत मिलाउन खोज्दा जनताको काम गर्न सकेका छैनन्।
तपाईंलाई अहिले आशा लागेका तीन जना नेता को को हुन्?
तीन जना नेता भन्नुपर्दा रास्वपाका सभापति रवि लामिछाने र बालेनले केही गर्न सक्छन् कि भन्ने लाग्छ। अरू पार्टीमा पनि युवाहरू छन्, अहिले नाम नलिऊँ।
यी नेताबाट किन आशा छ?
उनीहरूमा युवा जोस छ। उनीहरू पुरानो दलका नेताहरूजस्तै भ्रष्ट भइसकेका छैनन्। अहिले पनि उनीहरूको पर्याप्त सम्पत्ति छ। सम्पत्तिको लोभलालच गरेर भ्रष्टाचार नगर्लान् भन्ने लाग्छ।
उनीहरूले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारको खर्च कम गरून्। प्रदेश खारेज गरून्। मन्त्रीहरूको सचिवालय तीन चार जनाको मात्र बनाऊन्।
सेतोपाटी शृंखला 'हामी आममान्छे' पढ्न यहाँ क्लिक गर्नुहोस् — हामी आममान्छे