नेपाल नेत्रहीन क्रिकेट सङ्घले तीन न्यून दृष्टि भएका महिला क्रिकेट खेलाडीलाई सम्मान गरेको छ। सम्मानित हुने खेलाडीमा भगवती भट्टराई बराल, मनकेशी चौधरी र आशा रेग्मी रहेका छन्।
सङ्घले बुधबार आफ्नो १५औँ वार्षिकोत्सवको अवसरमा तीनै जनालाई ‘ज्योति केसी नेत्रहीन महिला क्रिकेट प्रतिभा पुरस्कार’बाट सम्मानित गरेको हो ।
तीनै जनालाई जनही रु पाँच हजारसहित सम्मान गरिएको सङ्घले जनाएको छ।
सम्मानित हुने भट्टराई नेत्रहीन राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तानसमेत हुन्। उनले डेढ दशकदेखि नेत्रहीन क्रिकेट खेल्दै आएकी छिन्। सङ्घले हरेक वर्ष साउन २२ गते आफ्नो वार्षिकोत्सव मनाउँदै आएको छ।
मनकेशी उत्कृष्ट ब्याटिङका लागि चर्चित छिन । उनी बेलायत र पाकिस्तानविरुद्धको सिरिजमा प्लेयर अफ दि सिरिज बनेकी थिइन्।