आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा अमेरिकाले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालका भीम सार्कीले अर्धशतक प्रहार गरेका छन्।
भीमले तेस्रो अर्धशतक बनाउने क्रममा ९७ बलमा ४ चौका हिर्काए। नेपालले खेलमा ३७ ओभरमा ४ विकेटको क्षतिमा १६३ रन जोडेको छ।
यसअघि कप्तान रोहित पौडेल १६ रन र कुशल मल्ल १३ रनमा आउट भए। यस्तै आसिफ शेख १२ रनमा अमेरिकाका नेत्रभाल्करको एलबिडब्लूको धरापमा पर्दा कुशल भुर्तेल ३९ रनमा केन्जिगेबाट क्याच भए।
अमेरिका २०७ रनमा अलआउट
जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २०७ रनमा अलआउट भयो।
अमेरिकाका लागि सातौं नम्बरमा ब्याटिङ गरेका शायन जहानगिरले शतक प्रहार गरे। एकदिवसीय खेलमा पहिलो शतक प्रहार गरेका उनले १०० रन जोड्ने क्रममा ७९ बलमा १० चौका र ३ छक्का हिर्काए।
अमेरिकाका ओपनर स्टेभिन टेलर ४ रन, मुकामाला शून्य, कप्तान आरोन जोन्स २ रन र केन्जिगे १ रनमा आउट भए। चारै जनालाई करण केसीले आउट गर्दै सुरुवाती चार विकेट लिएर नेपाललाई उत्कृष्ट सुरूवात दिए। आठ ओभर चल्दै गर्दा अमेरिकाले चार विकेट गुमाउदा १८ रन जोडेको थियो।
गजानन्द सिंह २६ रन बनाएर आउट भए भने ओपनिङ ब्याटर सुशान्त मोदानी ४२ रन जोडेर। निशर्ग पटेलले ८ रन मात्र जोड्न सके। जेसी सिंह १२ रन र शौरभ नेत्रभाल्कर ४ रनमा आउट भए।
बलिङमा नेपालका करण केसीले ४ विकेट लिए। केसीले ९ ओभरमा ३ मेडन राख्दा ३३ रन खर्चिए।
गुल्सन झाले ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले २ विकेट हात पारे। गुल्सनले १० ओभरमा ५२ रन र ५ ओभरमा १५ रन खर्चिए।
ललितनारायण राजवंशीले कसिलो बलिङ गर्ने क्रममा १० ओभरमा २० रन खर्चिदा १ विकेट लिए।
एकदिवसीय खेलमा सर्वाधिक छिटो सय विकेट लिने कीर्तिमान बनाएका सन्दीप लामिछाने पछिल्ला दुई खेलमा विकेटबिहिन बने। नेपालका लागि लगातार ३३ खेलमा विकेट लिएका सन्दीपले अमेरिकाविरुद्ध १० ओभरमा ५८ रन खर्चिए।
पहिलो खेलमा नेपाल र अमेरिका दुवैले हार बेहोरेका थिए। यद्यपी नेपालले जिम्बावे र अमेरिकाले वेस्ट इन्डिजसँग प्रतिस्पर्धात्मक खेल देखाएका थिए।
सुपर सिक्समा पुग्नका लागि दुवै टिमलाई आजको खेल महत्वपूर्ण छ। आजको खेलमा जित निकाल्न सके मात्र सुपर सिक्स सम्भावना जीवित हुन सक्छ।
१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्।
समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।
आज अमेरिकासँग खेलेपछि नेपालले २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ।
पाँच-पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टिम पुग्नेछन्।
सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।