आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा ओमानले लगातार दोस्रो जित निकालेको छ।
पहिलो खेलमा टेस्ट टिम आयरल्यान्डलाई पराजित गरेको ओमानले बुधबार युएईलाई ५ विकेटले पराजित गर्न सफल भयो।
बुलावायोमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ८ विकेटको क्षतिमा २२७ रन मात्र जोड्न सक्यो। उसका लागि आठौं नम्बरमा ब्याटिङ गरेका आयन खानले नटआउट ५८ रन जोड्दा वृत्य अरविन्द ४९ रनमा आउट भएका थिए।
बलिङमा ओमानका जय ओडेड्राले ३ विकेट लिए भने बिलाल खान र फयज बटले २-२ विकेट लिए।
२२८ रनको लक्ष्य ओमानले ४६ ओभरमा ५ विकेट गुमाएर पार गर्यो। ओमानका लागि अकिब इल्यासले ५३ रन र सोएब खानले नटआउट ५२ रन जोडे। ओपनरद्वय कश्यप प्रजापती ६ रन र जतिन्दर सिंह २ रनमा आउट भए पनि अकिब र सोएबले ओमानको इनिङ सम्हाले।
यस्तै मोहमद नदीमले नटआउट ५० रन र अयन खानले ४१ रन जोडे।
बलिङमा युएईका रोहन मुस्ताफा र जुनइद सिद्धिकीले २-२ विकेट लिए।
यो समूहको अर्को खेलमा टेस्ट टिम आयरल्यान्डलाई एसोसिएट टिम स्कटल्यान्डले १ विकेटले पराजित गरेको छ। जारी छनोटमा आयरल्यान्डको यो लगातार दोस्रो हार हो।
आयरल्यान्डले दिएको २८७ रनको लक्ष्य स्कटल्यान्डले अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गर्दै रोमाञ्चक जित निकाल्यो।
अन्तिम बलमा २ रन चाहिएको स्थितिमा माइकल लेक्सले चौका प्रहार गरेका थिए। त्यसअघि उनले ४७ ओभरमा समान २-२ चौका र छक्का हिर्काउदा स्कटल्यान्डले एकै ओभरमा २२ रन जोडेर जिततर्फ अघि बढेको थियो। लेक्सले नटआउट ९१ रन जोडे। उनले ६१ बलमा ९ चौका र ४ छ्क्का हिर्काए।
समूहमा ओमान २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा छ। २-२ अंक जोडेका श्रीलंका र स्कटल्यान्ड दोस्रो र तेस्रो स्थानमा छन्। श्रीलंका र स्कटल्यान्डले १-१ खेल मात्र खेलेका छन्। यता आयरल्यान्ड र युएई भने लगातार दुई खेलमा पराजित भएका छन्।