अवैध बलिङ एक्सन प्रयोग गरेको भन्दै अमेरिकाका तीव्र गतिका बलर काइल फिलिपलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्नबाट निलम्बन गरिएको छ।
फिलिप जिम्बावेमा भइरहेको आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा अमेरिकाको टोलीमा छन्। वेस्ट इन्डिजविरुद्ध अमेरिकाको पहिलो खेलमा उनले तीन विकेट लिएका थिए। नेपालविरुद्धको दोस्रो खेलमा भने उनले सात ओभर बलिङ गरे पनि विकेट लिन सकेका थिएनन्।
वेस्ट इन्डिजले उनको बलिङ एक्सको विषयमा रिपोर्ट गरेको थियो। त्यसपछि आइसिसीको प्यानलले २६ वर्षीय फिलिपको बलिङ एक्सन अवैध भएको ठहर गरेको हो।
आइसिसी नियमको धारा ६.७ अनुसार फिलिपलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्नबाट तुरुन्तै निलम्बन गरिएको छ। फिलिपले आफ्नो बलिङ एक्सनको पुन: मूल्यांकन गर्ने आधार पेश नगरेसम्म निलम्बन कायम रहनेछ।
बिहीबार हरारेमा नेदरल्यान्ड्ससँग पाँच विकेटले पराजित भएको अमेरिकाले क्रिकेट विश्वकप छनोट प्रतियोगितामा आफ्नो पहिलो तीन खेलमा हार बेहोरेको छ।
सोमबार जिम्बावेविरुद्धको समूहको अन्तिम खेल्ने अमेरिका अंक तालिकाको पुछारमा छ।