नेपाल एसिसी मेन्स यू-१९ प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ।
बुधबार युएईमा भएको समूहको अन्तिम खेलमा हङकङलाई ११९ रनले पराजित गर्दै नेपाल समुह विजेता बनेर अन्तिम चारमा पुगेको हो।
अब नेपालले सेमिफाइनलमा मलेसियासँग शनिबार प्रतिस्पर्धा गर्नेछ।
नेपालले दिएको २७१ रनको लक्ष्य पछ्याएको हङकङ ४०.५ ओभरमा १५१ रनमै अलआउट भयो।
उसका लागि शीव माथुरले सबैभन्दा बढी ३० रन बनाए। बलिङमा नेपालका अप्राजित पौडेलले ४ विकेट लिए। उनले १० ओभरमा २ मेडन राख्दा ३१ रन खर्चिए। अशोक धामीले ३ विकेट लिए। दयानन्द मण्डल, सुशील रावल र रोशन विश्वकर्माको नाममा १-१ विकेट रह्यो।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २७० रन बनाएको थियो।
नेपालका लागि कप्तान अशोक धामीले ५१ बलमा ७३ रन र दर्श सोनारले ५८ बलमा नटआउट ४५ बनाए। कुनै बेला ६ विकेट गुमाउदा १६२ रन बनाएको नेपालका लागि अशोक र दर्शले सातौं विकेटका लागि १०८ रनको साझेदारी गरेका थिए।
यो प्रतियोगिताका शीर्ष तीन टोलीले एसिया कप खेल्नेछन्। नेपाल र मलेसियासँगै युएई र ओमानले पनि सेमिफाइनल खेल्दैछन्।