पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले एक पछि अर्को रेकर्ड बनाउने क्रम जारी छ।
इटालियन क्लब युभेन्ट्समा आबद्ध रोनाल्डोले मंगलबार राति ६००औं लिग खेल खेले।
रोनाल्डोले स्पेजियाविरुद्धको खेल खेल्दै करिअरको ६००औं लिग खेल पूरा गरेका हुन्। खेलमा युभेन्ट्स ३-० गोलले विजयी भयो।
युभेन्ट्सका लागि मोराटाले ६२ मिनेटमा पहिलो गोल गरे। ७१ मिनेटमा चिएसाले अग्रता दोब्बर पारे।
८९ मिनेटमा रोनाल्डोले युभेन्ट्सका लागि तेस्रो गोल गर्न सफल भए।
यो गोल रोनाल्डोको सिजनको २०औं गोल हो। जससँगै उनी युरोपका शीर्ष पाँच लिगको पछिल्ला १२ वर्षमा प्रत्येक सिजनमा २० गोल पूरा गर्ने पहिलो खेलाडी बने।
करिअरको ६००औं लिग खेल पूरा गरेका रोनाल्डोले मंगलबार युभेन्ट्सबाट ८५औं खेल खेले।
यसअघि उनले स्पेनिस क्लब रियल म्याड्रिडबाट सन् २००९ देखि २०१८ सम्ममा २९२ खेल खेलेका थिए।
उनले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट २००३ देखि २००९ सम्ममा १९६ लिग खेलेमा सहभागिता जनाए।
त्यसअघि उनले पोर्चुगिज क्लब स्पोर्टिङबाट २५ खेल शीर्ष डिभिजनको र २ खेल बी डिभिजनको खेलेका थिए।
रोनाल्डोले अहिलेसम्म करिअरको ६६५ गोल गरिसकेका छन्। उनी औपचारिक प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी भएको दाबी छ।
युरोपियन च्याम्पियन्स लिगमा सय गोल पूरा गर्न पहिलो खेलाडी रोनाल्डोले राष्ट्रिय टिमबाट पनि सय गोल पूरा गरिसकेका छन्।