जर्मन क्लब आरबी लाइपिजका प्रशिक्षक जुलियन नागल्सम्यान आगामी सिजनदेखि जर्मन च्याम्पियन बायर्न म्युनिखमा आबद्ध हुने भएका छन्।
उनीसँग सिजनको अन्त्यमा पाँच वर्षको सम्झौता हुने बार्यनले बताएको छ।
हालका प्रशिक्षक हान्सी फ्लिकले बार्यन छाड्न चाहेपछि नागल्सम्यानलाई प्रशिक्षकमा नियुक्त गर्न लागिएको हो।
३३ वर्षीय नागल्सम्यान युरोपका उत्कृष्ट युवा प्रशिक्षकको रूपमा रहेका छन्। उनले गत सिजन लाइपजिगलाई युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनल पुर्याएका थिए।
'जुलियन नागल्सम्यान नयाँ पुस्ताका प्रशिक्षक हुन्,' बायर्नका अध्यक्ष हर्बर्ट हेनरले भने।
जुलियनले आगामी जुलाई १ बाट बायर्नको टिम सम्हाल्नेछन्।
उनी बुन्डेस लिगाको इतिहासमा युवा प्रशिक्षक भएका थिए। सन् २०१६ मा उनी २८ वर्षको उमेरमा होफेनहमको प्रशिक्षक बनेका थिए।
सन् २०१९ मा लाइपजिगमा आबद्ध भएपछि क्लबले लिगमा तेस्रो स्थान हात पारेको थियो। त्यसपछिको च्याम्पियन्स लिगमा क्लब अन्तिम चारसम्म पुगेको थियो।