विराटनगर सिटी एफसी नेपाल सुपर लिगको शीर्ष स्थानमा उक्लिएको छ।
सोमबार दशरथ रंगशालामा भएको खेलमा एफसी चितवनलाई २-० गोलले पराजित गर्दै विराटनगर शीर्ष स्थानमा उक्लिएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा विराटनगरले दुवै गोल दोस्रो हाफमा गरेको थियो।
उसका लागि पेड्रो मान्जीले ७३ मिनेटमा पहिलो गोल गरे। भारतको आइ लिगको अनुभव बटुलेका मान्जीले जारी लिगमा पहिलो गोल गरेका हुन्।
विराटनगरले खेल सकिन एक मिनेट बाँकी छदा अग्रता दोब्बर पारे। सन्तोष तामाङले ८९ मिनेटमा टिमका लागि दोस्रो गोल गरे।
शीर्ष स्थानमा पुगेको विराटनगरले ४ खेलबाट ७ अंक जोडेको छ। दोस्रो स्थानको धनगढी एफसीको पनि ७ अंक नै छ।
तेस्रो स्थानको बुटवल लुम्बिनी एफसी र चौथो स्थानको पोखरा थन्डर्स समान ५-५ अंक छ।
पाँचौ स्थानको काठमाडौं रेजर्सको ४ अंक छ भने ललितपुर सिटी एफसी ३ अंक जोडेर छैटौं स्थानमा छ।
अंक तालिकाको पुछारमा रहेको एफसी चितवनले २ अंक मात्र जोडेको छ।