साफ च्याम्पियनसिप २०२१ को उपाधि भिडन्तमा नेपालले भारतविरुद्धको फाइनल खेलमा एक मिनेटको अन्तरमा दुई गोल खाएको छ।
माल्दिभ्सको राजधानी मालेमा जारी फाइनल खेलमा नेपालले दोस्रो हाफ सुरु भएको सुरु चौथो मिनेटमा पहिलो गोल खायो।
खेलको ४९ मिनेटमा भारतका लागि कप्तान सुनील क्षेत्रीले पहिलो गोल गरे। उनले प्रितम कोटलको क्रसमा हेडमार्फत गोल गरे।
५० मिनेटमा भारतले अग्रता दोब्बर पार्यो। यसपटक सुरेश सिंहले गोल गरे। मोहमद यासिरले उपलब्ध गराएको पासमा सुरेशले गोल गरेका थिए।
नेपालले भारतलाई सन् २०१३ देखि हराउन सकेको छैन। सन् २०१३ मा नेपालमा भएको साफमा नेपालले भारतलाई २-१ ले पराजित गरेको थियो। त्यसयता भारतविरुद्ध खेलेका ८ मध्ये नेपाल ६ खेलमा पराजित भएको छ भने २ खेल बराबरीमा सकिएका छन्।
सन् १९९३ मा पाकिस्तानको लाहोरमा पहिलो संस्करणको साफ च्याम्पियनसिप भएको थियो। त्यसयता साफका १२ संस्करण सम्पन्न भइसकेका छन्।
१२ संस्करणमध्ये भारतले ७ पटक उपाधि जितेको छ। माल्दिभ्सले दुई पटक उपाधि जित्दा अफगानिस्तान, श्रीलंका र बंगलादेशले एक-एक उपाधि जितेका छन्।
सन् २००५ देखि साफ खेलेको आफगानिस्तानले २०१५ मा अन्तिम पटक साफ खेलेको थियो। अफगानिस्तानले मध्य एसिया फुटबल महासंघमा आबद्ध हुन साफ छाडेको थियो।
नेपाल, पाकिस्तान र भुटानले भने उपाधि जित्न सकेका छैनन्।