विश्व फुटबलको सर्वोच्च निकाय फिफाका प्रमुख कार्यसञ्चालन अधिकृत केभिन लामौरलाई पदबाट बर्खास्त गरिएको छ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपको केही हिस्सा निजी लगानीकर्ताहरूलाई बेच्न ल्याएको विवादास्पद योजनाको कडा आलोचना गरेपछि लामौरलाई हटाइएको हो।
युईएफएमा लामो समय काम गरेर दुई वर्षअघि मात्र फिफामा आएका लामौरले इन्फान्टिनोको योजनाप्रति कडा आपत्ति जनाएका थिए। उनले फिफा प्रशासनलाई 'धोका' दिइएको र अध्यक्ष इन्फान्टिनोले आफूलाई 'फिफाको सेवक' सम्झिनुको सट्टा 'फिफाको मालिक' ठान्ने गरेको भन्दै आलोचना गरेका थिए।
आफ्नो आलोचनाले गर्दा जागिर जान सक्छ भन्ने कुरामा लामौर पहिले नै सचेत थिए। गत जुलाई ३१ मा उनले भनेका थिए, ‘यदि सत्यको पक्षमा उभिँदा मेरो जागिर जान्छ भने मलाई त्यो स्वीकार्य छ। कम्तीमा म आजको रात ढुक्कसँग सुत्न त पाउनेछु।’ उनले बोलेको केही घण्टाभित्रै इन्फान्टिनोको उक्त योजना स्थगित गरिएको थियो।
फिफाका महासचिव म्याथियास ग्राफस्ट्रोमले कर्मचारीहरूलाई इमेल पठाउँदै लामौरले संस्था छाडेको जानकारी दिएका हुन्। फिफाका प्रवक्ताले अगस्ट १७, २०२६ देखि लामौरसँगको कार्यसम्बन्ध सकिएको पुष्टि गर्दै उनलाई भविष्यका लागि शुभकामना दिएका छन्। तर, उनलाई हटाउनुको वास्तविक कारणबारे फिफाले थप केही बोलेको छैन।
आफ्नो कडा टिप्पणीमा लामौरले फिफाभित्रका कर्मचारीहरूले अपमान र डरको वातावरणमा काम गरिरहेको र उनीहरूले सम्मानजनक व्यवहार पाउनुपर्ने बताएका थिए। उनले भनेका थिए, ‘हामी सबै फिफामा काम गर्दा गर्व गर्न चाहन्छौं, तर दुर्भाग्यवश अहिले धेरैका लागि त्यस्तो अवस्था छैन।’
सोही दिन इन्फान्टिनोका अर्का वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेइरोले पनि अध्यक्षको योजनाको विरोध गर्दै राजीनामा दिएका थिए। लामौर र इन्फान्टिनोले पहिले युईएफएमा पनि सँगै काम गरेका थिए। यो घटनाले फिफाभित्रको आन्तरिक विवाद र अध्यक्ष इन्फान्टिनोमाथि परिरहेको दबाबलाई प्रस्ट पारेको छ।