गत जुन १९ को राति जब इटालीको तेस्रो डिभिजनको क्लब 'राभेना'ले ब्राजिलियन लिजेन्ड रोनाल्डिन्होलाई अनुबन्ध गरेको खबर सार्वजनिक गर्दा धेरैले पत्याएका थिएनन्।
सन् २०१५ मा फ्लुमिनेन्सबाट अन्तिम पटक व्यावसायिक फुटबल खेलेका तथा ४६ वर्ष पुगिसकेका बालोन डी'ओर विजेता खेलाडी फेरि मैदानमा फर्किनु असम्भव जस्तै लाग्थ्यो। तर, यो कुनै ठट्टा थिएन, वास्तविकता थियो।
बिहीबार बिहान जब रोनाल्डिन्हो प्राइभेट जेटबाट इटालीको विमानस्थलमा उत्रिए, सबै शंकाहरू मेटिए। फूलबुट्टे सर्ट र आफ्नो चिरपरिचित टोपीमा सजिएका रोनाल्डिन्हो सिधै मेडिकल जाँचका लागि गए। उनी अब राभेना क्लबको खेलाडी मात्र होइन, क्लबको साझेदार समेत बनेका छन्। उनको लक्ष्य स्पष्ट छ– मैदानमा उत्रिएर आफ्नो करियरको ३००औं गोल पूरा गर्ने।
पत्रकार सम्मेलनमा बोल्दै बार्सिलोना र एसी मिलानका यी पूर्व स्टारले भने, ‘मैत्री र फुटबलप्रतिको मोहले मलाई यहाँ ल्याएको हो। म यहाँ अरु खेलाडीहरूलाई प्रोत्साहित गर्न र एउटा उत्कृष्ट सिजन बिताउन आएको हुँ। यदि मैले यहाँ गोल गर्न सकें भने मेरो अनुभव अझ सुन्दर हुनेछ।’ यद्यपि, उनी कति समय मैदानमा खेल्नेछन् भन्ने कुरा प्रशिक्षक र क्लबका अध्यक्षले तय गर्नेछन्।
क्लबका अध्यक्ष इग्नाजिओ सिप्रियानीले रोनाल्डिन्हो फिट रहेको र यो कुनै चर्चा कमाउने नाटक मात्र नभएको स्पष्ट पारेका छन्। क्लबलाई माथिल्लो डिभिजन (सिरि-बी) मा पुर्याउने लक्ष्यका साथ रोनाल्डिन्होलाई ल्याइएको उनले बताए।
रोनाल्डिन्होको स्वागतका लागि समुद्र किनारमा 'रोनाल्डिन्हो डे' आयोजना गरिएको थियो, जहाँ हजारौं प्रशंसकहरू पानी परेको प्रवाह नगरी आफ्ना प्रिय खेलाडीलाई हेर्न झुम्मिएका थिए। सुरुमा पत्याउन नसकेका फ्यानहरू अहिले रोनाल्डिन्होको आगमनले निकै उत्साहित छन्।