इन्टर मायामीका स्टार खेलाडी लियोनल मेसीलाई अमेरिकन मेजर लिग सकर (एमएलएस)ले जरिवाना गरेको छ।
मैदानमा विपक्षी टिम फिलाडेल्फिया युनियनका क्विन सुलिभानलाई थप्पड हानेको घटनामा मेजर लिग सकर (एमएलएस) ले मेसीलाई जरिवाना गरेको छ।
बिहीबार भएको खेलमा इन्टर मायामी र फिलाडेल्फिया युनियनले २–२ को बराबरी खेलेका थिए।
खेलको अन्त्यतिर मेसीले आफूले बल पास गरेपछि सुलिभानले कुहिनोले हानेको भन्दै विरोध गरिरहेका बेला उनको टाउकोको पछाडिपट्टि थप्पड हानेका थिए।
मेसीको थप्पडपछि सुलिभान आक्रोशित भएका थिए। तर रेफ्रीले तत्काल हस्तक्षेप गर्दै दुवै खेलाडीलाई छुट्याएका थिए।
एमएलएसले मेसीलाई जरिवाना गरिएको पुष्टि गरे पनि कति रकम जरिवाना गरिएको हो भन्ने खुलाएको छैन।
त्यस खेलमा मेसीले इन्टर मायामीका लागि दोस्रो गोल गरेका थिए।
उनका पिता तथा एजेन्ट जर्ज मेसीको निधनपछि मेसीले पहिलोपटक गोल गरेका हुन्। जर्ज मेसीको ६८ वर्षको उमेरमा लामो समयदेखि चलिरहेको स्वास्थ्य समस्यापछि निधन भएको थियो।
सुलिभानसँग विवादमा मुछिने मेसी एक्ला इन्टर मायामी खेलाडी भने थिएनन्। मायामीकै इयान फ्रेलाई पनि एमएलएसले जरिवाना गरेको छ।
सुलिभान पेनाल्टी क्षेत्रमा लडेर उठ्ने क्रममा दुवै खेलाडीबीच भनाभन तथा धकेलाधकेल भएपछि फ्रेले सुलिभानको घाँटी समातेका थिए। त्यस घटनामा फ्रेलाई पनि कारबाही गरिएको हो।
तनावपूर्ण बनेको खेलको इन्जुरी समयमा दुई खेलाडीले रातो कार्डसमेत पाएका थिए।
इन्टर मायामीका यानिक ब्राइट र फिलाडेल्फियाका सुलिभानका भाइ काभान सुलिभानलाई रेफ्रीले मैदानबाट बाहिर पठाएका थिए।
काभानमाथि लगाइएको एक खेलको निलम्बन भने समीक्षा गरेपछि एमएलएसले फिर्ता लिएको छ।
मेसीको गोलसँगै इन्टर मायामी शीर्ष स्थानमा रहेको न्यासभिलभन्दा सात अंकले पछाडि छ।