फिफाले अर्जेन्टिनी टिम र उसका खेलाडीहरूलाई कारबाही गरेको छ।
विश्वकप फुटबल २०२६ को सेमिफाइनल र फाइनलमा खेलाडीहरुले अनुशासन विपरीतका क्रियाकलाप गरेको विषयमा फिफाले टोली, प्रशिक्षक र खेलाडीहरूलाई कारबाही गरेको हो।
अर्जेन्टिना फुटबल संघ (एएफए) लाई फिफाको अनुशासन संहिता उल्लंघन गरेको भन्दै ३ लाख २१ हजार डलर जरिवाना गरिएको बिबिसीले जनाएको छ।
गैरखेलकुद गतिविधिका लागि खेलकुद कार्यक्रम प्रयोग गरेको, टोलीको अनुशासन उल्लंघन गरेको तथा समर्थकहरूले भेदभावपूर्ण नारा र हाउभाउ गरेको आरोपमा यो कारबाही गरिएको भनिएको छ।
जरिवानामध्ये १ लाख डलर भेदभावविरुद्धको कार्यक्रम सञ्चालनमा खर्च गर्नुपर्नेछ। अर्को १ लाख डलरको जरिवाना भने निलम्बित गरिएको छ र त्यसका लागि परीक्षण अवधि लागू हुनेछ।
यो कारबाही इंग्ल्याण्ड विरूद्धको सेमिफाइनल खेलसँग सम्बन्धित छ। त्यो खेलमा अर्जेन्टिना विजयी भएपछि खेलाडीहरूले ‘लास माल्भिनास सोन अर्जेन्टिनास’ अर्थात् ‘फकल्यान्ड टापु अर्जेन्टिनाको हो’ भन्ने सन्देश लेखिएको ब्यानर प्रदर्शन गरेका थिए।
फकल्यान्ड टापु बेलायतको अधीनमा रहेको विदेशी भूभाग हो।
फिफाले अर्जेन्टिनालाई आफ्नै मैदानमा खेलिने आगामी दुई अन्तर्राष्ट्रिय खेलमा ५० प्रतिशत क्षमतामा मात्र दर्शक प्रवेश गराउन पनि आदेश दिएको छ। यद्यपि त्यसमध्ये एउटा खेलको प्रतिबन्ध हाललाई निलम्बित गरिएको बिबिसीले जनाएको छ।
फाइनलमा पराजित भएपछि स्पेनका खेलाडीहरूमाथि भएको कुटपिटमा पनि फिफाले अर्जेन्टिनी खेलाडी र प्रशिक्षकलाई कारबाही गरेको छ।
अर्जेन्टिनाका मिडफिल्डर लियान्द्रो पारेडेसलाई फिफाले १० खेलको प्रतिबन्ध लगाएको छ।
अर्जेन्टिनाका अर्का खेलाडी नाहुएल मोलिनालाई पनि सात खेलको प्रतिबन्ध लगाएको छ। दुवै खेलाडीलाई ९०/९० हजार डलर जरिवाना पनि तोकिएको बिबिसी स्पोर्ट्सले जनाएको छ।
पारेडेसले स्पेनका एरिक गार्सियाको घाँटी समातेका थिए भने गाभीलाई भुइँमा लडाएका थिए।
त्यसपछि उनले गाभीको अनुहारमा प्रहार गरेको देखिएको थियो। गाभीले भने पारेडेसलाई कारबाही गर्न नहुने बताएका थिए।
गाभीलाई पनि घटनामा संलग्न भएको भन्दै एक खेलको प्रतिबन्ध र ३० हजार डलर जरिवाना गरिएको छ। अर्जेन्टिनाका थियागो अल्माडामाथि पनि समान कारबाही भएको छ।
अर्जेन्टिनाका प्रशिक्षक टोलीका सदस्य रोबर्टो अयालालाई स्पेनका डानी ओल्मोको अनुहारमा प्रहार गरेको भन्दै तीन खेलको प्रतिबन्ध र ३० हजार डलर जरिवाना गरिएको छ।
मोलिनामाथिको सात खेलको प्रतिबन्ध भने स्पेनको जितपछि म्यान अफ द म्याच रोड्री खुसी मनाउँदै दौडिरहेका बेला उनले मुक्का प्रहार गरेको देखिएको घटनासँग सम्बन्धित छ।
फिफाको यो निर्णयले विश्वकप फाइनलमा भएको घटनालाई गम्भीर रूपमा लिएको सन्देश दिएको बिबिसीले जनाएको छ।
फाइनलको झडपमात्र नभई सेमिफाइनलपछि देखाइएको राजनीतिक सन्देशसमेत कारबाहीको दायरामा परेकाले अर्जेन्टिनामाथि कडा कारबाही गरिएको हुनसक्ने बताइएको छ।
विश्वकप फाइनल विश्वभर करिब १ अर्ब ५० करोड दर्शकले हेरेको अनुमान गरिएको अवस्थामा त्यस्तो घटनाले प्रतियोगिताको प्रतिष्ठामा असर पारेको भन्दै फिफाले कडा कदम चालेको बिबिसीको विश्लेषण छ।
फिफाले लगाएको खेल प्रतिबन्ध अन्तर्राष्ट्रिय खेलमा मात्र लागू हुनेछ।
अर्जेन्टिनी फुटबल संघ (एएफए)ले भने फिफाको निर्णयविरुद्ध अपिल गर्ने जनाएको छ।
अपिलबाट पनि निर्णय परिवर्तन नभए आफूहरूले खेलसम्बन्धी विवाद समाधान गर्ने अन्तर्राष्ट्रिय अदालत (सिएएस) मा मुद्दा लैजाने एएफएले जनाएको छ।