९ वर्षको लामो अन्तरालपछि प्रिमियर लिगमा फर्किएको हल सिटीले आफ्नो पुनरागमन खेलमै म्यानचेस्टर युनाइटेडलाई २-० गोलले हराएर इतिहास रचेको छ।
प्रिमियर लिगको इतिहासमा हल सिटीले युनाइटेडलाई हराएको यो पहिलो पटक हो। यो हारले पाहुना टोली युनाइटेड पूर्ण रूपमा स्तब्ध बनेको छ।
माइकल क्यारिकको प्रशिक्षणमा सन् २०२५-२६ को सिजन तेस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगका लागि छनोट भएको र नयाँ खेलाडीहरू पनि भित्र्याएका कारण युनाइटेडको मनोबल उच्च थियो।
तर, मैदानमा भने अर्कै दृश्य देखियो। प्ले-अफ जितेर प्रिमियर लिगमा उक्लिएको 'टायगर्स' उपनामले चिनिने हल सिटीले आफ्नै घरेलु मैदानमा सानदार प्रदर्शन गर्यो। टोलीका लागि दुवै गोल डिफेन्डरहरूले गरे।
खेलमा सेमि अजयीले हल सिटीलाई सुरुवाती अग्रता दिलाए। ओली म्याकबर्नीको प्रहारलाई युनाइटेडका गोलकिपर सेन लेमेन्सले बचाउन खोज्दा बल पोलमा लागेर फर्किएको थियो, जसलाई अजयीले गोलमा परिणत गरे।
त्यस्तै, क्लबका कीर्तिमानी खेलाडी नोबेल मेन्डीले आफ्नो डेब्यु खेलमै गोल गरेर टोलीको जित सुनिश्चित गरे। उनले रेगन स्लेटरको फ्री-किकमा हेडमार्फत उत्कृष्ट गोल गरे। मे २०१७ मा टोटनहमसँग ७-१ को लज्जास्पद हार व्यहोरेपछि प्रिमियर लिगमा हल सिटीको यो पहिलो खेल र सानदार जित हो।
हल सिटीका गोलकिपर कोन्स्टान्टिनोस जोलाकिसले खेलभरि ५ वटा उत्कृष्ट बचाउ गरे। खेलको अन्त्यतिर उनले ब्रायन एम्बेउमोको प्रहारलाई रोक्दै युनाइटेडलाई गोल गर्नबाट बञ्चित गराएका थिए।