यो सिजनको सुरुमा खासै चर्चा नभए पनि २१ वर्षीय स्पेनिस फरवार्ड कार्लोस एस्पी अहिले रियल मड्रिडको सबैभन्दा आशालाग्दा खेलाडी बनेका छन्।
प्रशिक्षक जोसे मौरिन्होको रोजाइमा परेका उनलाई रियल मड्रिडले लेभान्टेबाट २१ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो। उनीसँग क्लबले सन् २०३१ सम्मका लागि ५ वर्षको लामो सम्झौता गरेको छ।
२४ जुलाई २००५ मा स्पेनको भ्यालेन्सियामा जन्मिएका एस्पी ६ फिट ४ इन्च अग्ला छन्। उनको यही विशाल शरीर र गोल गर्ने अद्भुत क्षमताका कारण उनलाई आधुनिक फुटबलको 'क्लासिक स्ट्राइकर' मानिन्छ। उनी 'पेनाल्टी बक्स' भित्र निकै खतरनाक साबित हुन्छन्।
एस्पीले आफ्नो व्यावसायिक फुटबलको सुरुवात स्थानीय क्लब 'अल्जिरा' बाट गरेका थिए। सन् २०२२ मा लेभान्टेको एकेडेमीमा भर्ना भएपछि उनको खेलमा निकै निखार आयो।
सन् २०२४-२५ को सिजनमा ६ महत्त्वपूर्ण गोल गर्दै उनले लेभान्टेलाई स्पेनको दोस्रो डिभिजनबाट ला लिगा मा उकाल्न मुख्य भूमिका खेले।
सन् २०२५-२६ को ला लिगा सिजनमा उनले ११ गोल गर्दै आफूलाई उत्कृष्ट सावित गरे। सोही प्रदर्शनका कारण उनले लिगको 'उत्कृष्ट युवा खेलाडी' को अवार्ड र मार्च २०२६ को 'प्लेयर अफ द मन्थ' को उपाधि पनि जिते।
रियल मड्रिडका लागि शनिबार आफ्नो पहिलो खेलमै एस्पीले निर्णायक गोल गरेर सबैको मन जितेका छन्। एस्पान्योल विरुद्धको खेल १-१ को बराबरीमा रहेको अवस्थामा मैदान छिरेका एस्पीले ९०औं मिनेटमा उत्कृष्ट गोल गर्दै रियललाई जित दिलाए। प्रशिक्षकका रूपमा दोस्रो पटक रियल फर्किएका जोसे मौरिन्होका लागि एस्पीको यो गोलले सुखद सुरुवात गराएको छ।
नयाँ सिजनका लागि ट्रेन्ट अलेक्जेन्डर-आर्नोल्ड, बर्नार्डो सिल्भा र केलियन एमबाप्पेजस्ता दिग्गज खेलाडीहरूको साथ पाएको मड्रिडमा एस्पीले आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।