रियल म्याड्रिडका पोर्चुगाली प्रशिक्षक जोसे मौरिन्हो र ब्राजिलियन स्टार भिनिसियस जुनियरबीचको एउटा निजी कुराकानी सार्वजनिक भएको छ। एस्पान्योल विरुद्धको खेलमा भिनिसियसको प्रदर्शन र उनले झेल्नुपरेको दबाबपछि मौरिन्होले उनलाई विशेष सन्देश दिएका हुन्।
एस्पान्योल विरुद्धको खेलमा भिनिसियसले समर्थकहरूको कडा हुटिङ र विपक्षी खेलाडीहरूको तारन्तार फाउलको सामना गर्नुपरेको थियो। मौरिन्होले सार्वजनिक रूपमै यसको कडा विरोध गरे।
उनले भने, ‘भिनिसियस कुनै त एन्जल होइनन्, तर उनीमाथि जे भइरहेको छ, त्यो अतिरञ्जित छ। आजको युगमा हामी 'एन्टी-बुलिङ' को कुरा गर्छौं, तर मैदानमा भिनिसियसले विपक्षी र समर्थकहरूबाट लगातार बुलिङ खेपिरहेका छन्।’
मौरिन्होले विपक्षीको रणनीतिको पनि आलोचना गरे, जहाँ एकपछि अर्को खेलाडीले भिनिसियसलाई पालैपालो फाउल गर्ने र पहेँलो कार्ड पाएपछि अर्को नयाँ खेलाडी पठाएर उनलाई मानसिक तनाव दिने गरिन्छ।
खेलमा भिनिसियस अलि बढी उत्तेजित भएको र विपक्षीको उक्साहटमा आएर पहेँलो कार्ड खाएपछि मौरिन्होले उनीसँग व्यक्तिगत रूपमा कुरा गरे। मौरिन्होले भिनिसियसलाई प्रस्ट पार्दै भने कि उनी जस्तोसुकै परिस्थितिमा पनि भिनिसियसको साथमा उभिनेछन्।
मौरिन्होका अनुसार भिनिसियस उनको नयाँ टोलीका एक मुख्य 'खम्बा' हुन्। भिनिसियसको गति र ड्रिब्लिङले नै केलियन एम्बाप्पे र जुड बेलिङ्घम जस्ता खेलाडीहरूका लागि गोल गर्ने अवसर सिर्जना गरिदिने प्रशिक्षकको बुझाइ छ।
पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्न नसके पनि मौरिन्हो भिनिसियससँग चिन्तित छैनन्। उनले भिनिसियसको साहस र जिम्मेवारी लिने क्षमताको प्रशंसा गर्दै उनलाई आफ्नो भावनामा नियन्त्रण राख्न र विपक्षीको जालमा नफस्न सल्लाह दिएका छन्। मौरिन्हो यस सिजन भिनिसियसलाई अझ माथिल्लो स्तरको खेलाडी बनाउन चाहन्छन्।