चेल्सीका ब्राजिलियन स्ट्राइकर जोआओ पेड्रोले प्रिमियर लिगको इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले लेखेका छन्। सिजनको पहिलो खेलमा सोमबार फुलहमविरुद्ध खेल्दै उनले ऐतिहासिक गोल गरे।
यो गोल खेल सुरु भएको मात्र ३१ सेकेन्डमा सम्भव भएको थियो। कोल पाल्मरको 'थ्रू बल'लाई नियन्त्रणमा लिँदै पेड्रोले पेनाल्टी एरियाभित्रबाट गोलरक्षकको माथिबाट प्रहार गर्दै उत्कृष्ट फिनिसिङ गरे।
तथ्यांक विशेषज्ञ संस्था ‘ओप्टा’ का अनुसार ३१औँ सेकेन्डमा भएको यो प्रहार प्रिमियर लिगको उद्घाटन चरण को इतिहासकै सबैभन्दा छिटो गोल हो। यो सफलतासँगै चेल्सीका स्ट्राइकर पेड्रो कुनै पनि सिजनको पहिलो खेलमा सबैभन्दा छिटो गोल गर्ने खेलाडीका रूपमा कीर्तिमान बनाउन सफल भएका छन्।
चेल्सीका नयाँ प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा क्लबले छिमेकी टोली फुलहमलाई ३-२ गोलले हराउँदै प्रिमियर लिगमा शानदार सुरुवात गर्न सफल भयो।
खेलमा २४ वर्षीय कोल पाल्मर मुख्य आकर्षण बने। उनले ३१औँ सेकेन्डमा पेड्रोको गोलका लागि पास मात्र मिलाइदिएनन्, पछि बर्न्ड लेनोको खुट्टाको बीचबाट बल छिराउँदै टोलीका लागि निर्णायक गोल समेत गरे।
अलोन्सोका लागि अर्को खुसीको कुरा के रह्यो भने,यसै समरमा क्लब भित्रिएका रेकर्ड साइनिङ मोर्गन रोजर्सले पनि आफ्नो डेब्यू खेलमै गोल गरे। उनलाई अर्का डेब्यू खेलाडी म्याक्सेन्स लाक्रोइक्सले पास उपलब्ध गराएका थिए।
यद्यपि, घरेलु टोली फुलहमले अलोन्सोको पहिलो खेललाई सहज भने हुन दिएन। फुलहमका युवा मिडफिल्डर जोस किङले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए। उनको प्रहारले चेल्सीका गोलरक्षक रोबर्ट सान्चेजलाई नजिकैको पोस्टमा माथ खुवाएको थियो।
त्यस्तै रियल मड्रिडबाट आएका नयाँ खेलाडी गोन्जालो गार्सियाले पनि फुलहमका लागि हेडमार्फत गोल गर्दै अल्भारो अर्बेलोआको टोलीलाई अंक दिलाउने आशा जगाएका थिए। तर, अन्ततः चेल्सीले आफ्नो अग्रता जोगाउँदै सन् २०२२-२३ पछि पहिलो पटक सिजनको सुरुवाती खेलमा जित दर्ता गर्न सफल भयो।