किलियन एम्बाप्पेको सानदार ह्याट्रिकको मद्दतले रियल मड्रिडले रियल सोसिडाडलाई पराजित गरेको छ। यस जितसँगै प्रशिक्षक जोजे मोरिन्होको सान्टियागो बर्नाबेउ रंगशालामा सुखद पुनरागमन भएको छ।
रियल मड्रिडमा आफ्नो दोस्रो कार्यकाल सुरु गरेका मोरिन्होले यसै साताको सुरुमा एस्पान्योललाई २-१ ले हराउँदै सुखद सुरुवात गरेका थिए। सोही लयलाई कायम राख्दै उनले यो लगातार दोस्रो जित दर्ता गरेका हुन्।
खेलमा एम्बाप्पेले तीन उत्कृष्ट गोल गरे भने जुड बेलिङ्घमले दुई गोलको अवसर सिर्जना गरिदिए। बेलिङघमकै पासमा भिनिसियस जुनियरले तेस्रो गोल गरेका थिए।
रियल सोसिडाड मड्रिडको खुसीयालीमा बाधक बन्ने दाउमा थियो र सुरुवाती समयमा घरेलु टोलीलाई निकै दबाबमा राख्यो।
पहिलो हाफ सकिन पाँच मिनेट बाँकी छँदा एम्बाप्पेले डिबक्स भित्र डिफेन्डरलाई छक्याउँदै उत्कृष्ट गोल गरेर मड्रिडको खाता खोले। सोसिडाडले पनि तुरुन्तै जवाफ दियो। चार मिनेटपछि नै लुका सुचिचको प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भएपछि खेल १-१ को बराबरीमा पुग्यो।
दोस्रो हाफको मध्यतिर जुड बेलिङ्घमको जादुमयी खेलले मड्रिडलाई दुई गोलको अग्रता दिलायो। बेलिङ्घम र एम्बाप्पेबीचको उत्कृष्ट तालमेलमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरे। त्यसको केही बेरमै बेलिङ्घमले डिबक्स भित्र चलाखीपूर्ण रूपमा मिलाइदिएको पासमा भिनिसियस जुनियरले सहजै गोल गरे।
खेलको अन्त्यतिर भिनिसियसको सुन्दर पासलाई सदुपयोग गर्दै एम्बाप्पेले बललाई गोलकिपरको माथिबाट 'चिप' गरेर आफ्नो ह्याट्रिक पूरा गरे र मड्रिडको जित सुनिश्चित गरे।