युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले फिफा अध्यक्ष जियानी इन्फान्टिनोमाथि फौजदारी मुद्दा लगाउने तयारी गरेको छ।
युएइएफले इन्फान्टिनोमाथि अपराधिक कुव्यवस्थापनसहित विभिन्न आरोप लगाएको छ।
इन्फान्टिनोले विश्वकप र फिफाका अन्य ठूला प्रतियोगिताहरूको व्यापारिक अधिकार (व्यापारिक हिस्सा) निजी लगानीकर्ताहरूलाई बेच्ने एउटा गोप्य योजना बनाएका थिए। यो योजनाको नाम फिफा फरवार्ड इन्टरप्राइजेज राखिएको थियो। तर, चर्को विरोध भएपछि यो योजना अहिले रद्द भइसकेको छ।
इन्फान्टिनोले विश्वकप जस्तो बहुमूल्य सम्पत्तिको २०% हिस्सा मात्र ४.२ अर्ब डलरमा बेच्न खोजेका थिए, जुन वास्तविक बजार मूल्यभन्दा निकै कम (सस्तो) भएको युइएफएको दाबी छ।
साथै उनले यो काम कुनै खुल्ला प्रतिस्पर्धा वा स्वतन्त्र मूल्यांकन बिना नै आफ्नै स्वार्थका लागि गर्न खोजेका तथा योजनाले फुटबल जगत र फिफाका सदस्य राष्ट्रलाई ठूलो आर्थिक क्षति पुर्याउने युइएफएको दाबी छ।
युइएफएले अमेरिकाका विभिन्न अदालत (न्युयोर्क, फ्लोरिडा र कोलोराडो) मा कानुनी उजुरी दर्ता गरेको छ।
युइएफएले ती लगानीकर्ता कम्पनीसँग भएका गोप्य कागजात, इमेल र कुराकानीहरू सार्वजनिक गर्न माग गरेको छ। यी प्रमाण संकलन गरेर स्विट्जरल्यान्डमा इन्फान्टिनोविरुद्ध फौजदारी मुद्दा चलाउने युइएफएको तयारी छ।
स्वीस कानुन (धारा १५८) अनुसार यदि इन्फान्टिनोले आफ्नो पदको दुरुपयोग गरी फिफालाई घाटा पुर्याएको र व्यक्तिगत लाभ लिन खोजेको प्रमाणित भएमा ५ वर्षसम्मको जेल सजाय वा ठूलो जरिवाना हुन सक्छ।
यो विवादपछि इन्फान्टिनोको पद संकटमा परेको छ। युइएफए लगायत एसियाली र उत्तर अमेरिकी फुटबल महासंघहरूले उनलाई राजीनामा दिन दबाब दिइरहेका छन्।