रसुवाको भोटेकोशी नदीमा एक्कासी आएको बाढीमा ज्यान गुमाएका र पीडित बनेकाको सम्झनामा स्पेनिस महारथी क्लब बार्सिलोनाले एक मिनेट मौनधारण गरेका छन्।
घरेलु मैदानमा एथ्लेटिक क्लबसँगको खेलअघि दुवै टोलीका खेलाडीले मौन धारण गरेको भिडिओ क्लिपमा देखिएको छ।
यसविषयमा बार्सिलोनाले सामाजिक सञ्जालमार्फत् जानकारी गराएको छ। क्लबले लेखेको छ, ‘गत सिजन निधन भएका बार्सिलोनाका खेलाडी साथै नेपाल र चीनको सीमामा आएको विनाशकारी बाढीबाट पीडितको सम्झनामा तथा घाइतेका लागि एक मिनेट मौनधारण गरिएको थियो।’
बार्सिलोनाले यसअघि सामाजिक सञ्जालमार्फत नेपालमा आएको बाढी पीडितप्रति ऐकबद्धता जनाएको थियो।
यस्तै स्पेनिस क्लब एट्लेटिको मड्रिड र आर्मेनियाले पनि सामाजिक सञ्जालमार्फत् दु:ख व्यक्त गर्दै ऐकबद्धता जनाएका छन्।
नेपाल आएको बाढीप्रति अरु विभिन्न क्लबहरुले पनि ऐकबद्धता जनाइरहेका छन्। आइपिएल टोलीहरू कोलकता नाइटराइडर्स, रोयल च्यालेन्जर्स बेंगलुरु, चेन्नइ सुपरकिंग्सले पनि यसअघि ऐकबद्धता जनाएका थिए।
भुटानका पारो एफसी र थिम्पू सिटीले पनि ऐकबद्धता जनाएका छन्। भुटानमा हाल नेपालका दर्जन बढी महिला खेलाडी खेलिरहेका छन्।