अमेरिकी स्ट्राइकर फोलारिन बालोगनले क्लबमा आउन अनिच्छा देखाएपछि एभर्टनसँगको उनको सम्झौता रद्द भएको छ।
२५ वर्षीय बालोगनलाई ४० मिलियन पाउण्डमा भित्र्याउन एभर्टन र मोनाकोबीच सुरुमा सहमति भएको थियो। तर, स्वास्थ्य परीक्षणमा केही समस्या देखिएपछि सम्झौताका सर्तहरूमा पुनः छलफल गरिएको थियो। अन्ततः बालगुन आफैँले यो सरुवा प्रक्रियालाई अगाडि नबढाउने निर्णय गरे।
एभर्टनले ट्रान्सफर विन्डो बन्द हुनुअघि नै बालगुनलाई अनुबन्ध गर्न आवश्यक कागजी प्रक्रिया बुझाएको थियो।
क्लबका स्ट्राइकर बेटो इटालियन क्लब फियोरेन्टिना पलायन भएपछि एभर्टनले बालगुनलाई मुख्य लक्ष्य बनाएको थियो। यसबाहेक एभर्टनले म्यानचेस्टर युनाइटेडका जोसुवा जिर्कजी र एस्टन भिल्लाका ट्यामी अब्राहमलाई पनि ल्याउने प्रयास गरेको थियो, तर उनीहरूलाई मनाउन सकेन।
ट्रान्सफर विन्डोको अन्तिम दिन एभर्टनले म्यानचेस्टर सिटीबाट ज्याक ग्रिलिसलाई एक सिजनका लागि 'लोन' मा अनुबन्ध गरेको छ। ३० वर्षीय ग्रिलिसले २०२५-२६ को सिजन पनि एभर्टनमै बिताएका थिए, जहाँ उनले २० खेल खेलेपछि खुट्टाको चोटका कारण सिजनको बाँकी खेल गुमाएका थिए।
आफ्नो पुरानो क्लब एस्टन भिल्ला जाने चर्चाका बीच ग्रिलिसले पुनः डेभिड मोयसको टोली (एभर्टन) रोजेका छन्। ग्रिलिसले भने, ‘जब मलाई सबैले माया गर्छन्, तब म फुटबल मात्र होइन जीवनकै उत्कृष्ट लयमा हुन्छु। एभर्टनका प्रशिक्षक, साथीहरू र विशेषगरी समर्थकहरूले मलाई सधैँ माया दिएका छन्।’
सन् २०२१ मा १०० मिलियन पाउण्डमा सिटी पुगेका ग्रिलिसले एभर्टनमा रहँदा उत्कृष्ट प्रदर्शन गर्दै 'प्रिमियर लिग प्लेयर अफ द मन्थ' समेत जितेका थिए। उनी भर्खरै चोटमुक्त भएर मैदान फर्किएका हुन्।
एभर्टनले फ्रान्सेली क्लब लियोनबाट पूर्व आर्सनल खेलाडी एन्सले मेटल्याण्ड-नाइल्सलाई पनि भित्र्याएको छ। २९ वर्षीय नाइल्सले इंग्ल्याण्डका लागि ५ खेल खेलिसकेका छन् र उनी रक्षापंक्ति वा मिडफिल्ड दुवै स्थानमा खेल्न सक्छन्।
यसैबीच, एभर्टनका राइट-ब्याक नाथन प्याटरसन भने इटालियन क्लब टोरिनोमा स्थायी रूपमा आबद्ध भएका छन्। २४ वर्षीय प्याटरसन सन् २०२२ मा रेन्जर्सबाट एभर्टन आएका थिए र उनले क्लबका लागि ६८ खेल खेलेका थिए।