जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख लगातार ५९ खेलपछि पहिलोपटक कुनै पनि आधिकारिक प्रतियोगितामा गोल गर्न असफल भएको छ।
भर्खरै माथिल्लो डिभिजनमा बढुवा भएको टोली साल्केले बायर्नलाई उसकै मैदानमा गोलरहित बराबरीमा रोक्न सफल भयो।
बायर्नका लागि लुइस डियाजले गोल गर्ने सबैभन्दा सुनौलो अवसर पाएका थिए। खेलको दुवै हाफमा उनले गोलकिपरसँग 'वान-अन-वान' स्थितिमा गोल गर्न सकेनन्। पहिलो पटक उनले गोलकिपर लोरिस कारियस मात्र अगाडि हुँदा बललाई पोस्ट बाहिर प्रहार गरे भने दोस्रो पटक उनको फितलो प्रहारलाई गोललाइन पुग्नुअघि नै साल्काका डिफेन्डरले क्लियर गरिदिए।
सिजनको सुरुवातमा भीएफबी स्टुटगार्टलाई ५-१ ले हराएको र कप खेलमा ओस्नाब्रुकलाई ४-१ ले पछारेको बायर्नका प्रशिक्षक भिन्सेन्ट कोम्पनीले यस खेलमा केही मुख्य खेलाडीहरूलाई आराम दिँदै टोलीमा परिवर्तन गरेका थिए।
स्टार खेलाडी ह्यारी केन र माइकल ओलिसेले पहिलो हाफ बेन्चमै बसेर हेरेका थिए। बायर्नले बल आफ्नो नियन्त्रणमा राखे पनि पहिलो हाफमा निकै फितलो प्रदर्शन गर्यो। दोस्रो हाफमा केन मैदान प्रवेश गरे, तर खेल सकिन ३५ मिनेट बाँकी छँदा ओलिसे र जमल मुसियाला मैदान छिरेपछि मात्र बायर्नले दबाब बढाउन सुरु गर्यो। मुसियाला प्रि-सिजनका दुई खेलका क्रममा अचानक बेहोस हुने समस्या देखिएपछि पहिलोपटक मैदान फर्किएका हुन्।
खेलको अन्त्यतिर कोनराड लैमरको प्रहार पोस्टको जालीमा बाहिरबाट लाग्यो भने ह्यारी केनको एउटा उत्कृष्ट प्रहारलाई गोलकिपर कारियसले औँलाले छुँदै बाहिर पठाइदिए। साल्केको अनुशासित रक्षापङ्क्तिलाई बायर्नले तोड्न सकेन र साल्काले सिजनको पहिलो अंक जोड्यो।
यो केनको ९६औँ बुन्डेसलिगा खेल थियो। उनलाई १०० गोल पूरा गर्न अब मात्र २ गोल बाँकी छ। उनले बुन्डेसलिगामा आफूले सामना गरेका २१ टोलीमध्ये २० विरुद्ध गोल गरिसकेका छन्।
पछिल्लो दुई वर्ष अर्थात् ६७ खेलपछि पहिलोपटक बायर्न म्युनिख लिग तालिकाको शीर्ष स्थानमा रहन असफल भएको छ।
बायर्नले अब आउँदो बिहीबार च्याम्पियन्स लिगको पहिलो खेलमा 'बोडो/ग्लिम्ट'को सामना गर्नेछ भने सेप्टेम्बर १३ मा बुन्डेसलिगाको अर्को नयाँ टोली 'एल्भर्सबर्ग'सँग खेल्नेछ।