इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडविरुद्ध दुई पटक पछि परेको स्थिति उल्ट्याउँदै एभर्टनले २-२ गोलको रोमाञ्चक बराबरी खेलेको छ।
एभर्टनका लागि डेब्यू खेलाडी आइन्सले मेटल्याण्ड-नाइल्सले खेलको अन्तिम समयमा सानदार गोल गर्दै टोलीलाई हारबाट जोगाए।
फ्रान्सेली क्लब लियोनबाट ट्रान्फर विन्डोको अन्तिम दिन एभर्टन आएका पूर्व आर्सनल मिडफिल्डर मेटल्याण्ड-नाइल्सले डिब्बा बाहिरबाट गरेको प्रहार सिधै जालीमा छिरेको थियो।
युनाइटेडका गोलकिपर सेन ल्यामेन्सले सो प्रहार बचाउने कुनै मौका नै पाएनन्। यससँगै युनाइटेड यस सिजनको पहिलो अवे जित दर्ता गर्नबाट चुक्यो।
खेलको सुरुमै युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजको प्रहार गोलपोस्टको क्रसबारमा लागेर फर्किएको थियो। दोस्रो हाफ सुरु भएको ६० सेकेन्डभित्रै ब्रायन एम्बुमोले उत्कृष्ट गोल गर्दै युनाइटेडलाई १-० को अग्रता दिलाए।
बेखेलको दोस्रो हाफमा एभर्टनका प्रशिक्षक डेभिड मोयसले ज्याक ग्रिलिस र हेडन ह्याक्नीलाई मैदान छिराए। ह्याक्नीकै पासमा टायरिक जर्जले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए।
त्यसपछि बेन्जामिन सेस्कोले हेडमार्फत गोल गर्दै युनाइटेडलाई पुन: २-१ को अग्रता दिलाए पनि अन्तिम समयमा मेटल्याण्ड-नाइल्सले गोल गर्दै घरेलु समर्थकहरूलाई खुसीले झुमाए।
यस बराबरीसँगै एभर्टनले यस सिजनको आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ।