युरोपियन च्याम्पियन्स लिगको नयाँ सिजनको सुरुवातमा म्यानचेस्टर सिटी र रियल म्याड्रिडले आ-आफ्नो खेलमा जित दर्ता गरेका छन्।
स्ट्राइकर अर्लिङ हालान्डको दुई गोलको मद्दतमा म्यानचेस्टर सिटीले पोर्चुगिज क्लब पोर्टोलाई उसैको मैदान 'एस्टाडियो दो ड्रागाओ' मा २-० ले पराजित गरेको छ]
अघिल्लो शनिबार कोभेन्ट्रीविरुद्ध टोलीको जितमा निर्णायक गोल गरेका हलान्डले यस खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै हेडर र उत्कृष्ट फिनिसिङमार्फत दुई गोल गरे।
यस जितसँगै हलान्डले म्यानचेस्टर सिटीका लागि मात्र ४० च्याम्पियन्स लिग खेलमा ३६ गोलको आँकडा पूरा गरेका छन्।
एन्जो मारेस्काको नेतृत्वमा रहेको सिटीले प्रिमियर लिगका सुरुवाती तीनै खेल जितेको छ र यस खेलमा पनि पूर्ण नियन्त्रण बनाएको थियो।
सिटीका लागि पहिलो पटक सुरुआती ११ मा परेका युवा खेलाडी अयुब बुआड्डीले पनि निकै प्रभावकारी प्रदर्शन गरे।
सन् २००४ को च्याम्पियन्स लिग विजेता पोर्टोले युरोपियन प्रतियोगिताहरूमा इंग्लिस टोलीविरुद्धका पछिल्ला १७ खेलमध्ये २ खेलमा मात्र जित हात पारेको छ।
अर्को रोमाञ्चक खेलमा किलियान एम्बाप्पेको कीर्तिमानी गोलको सहयोगमा रियल म्याड्रिडले इन्टर मिलानलाई २-१ ले पराजित गरेको छ।
२७ वर्षीय एम्बाप्पेले होसे मोरिन्होको टोलीका लागि १४ औं मिनेटमा बक्स भित्रबाट गोल गर्दै च्याम्पियन्स लिगको ९९ औं उपस्थितिमा आफ्नो ७१ औं गोल पूरा गरे।
यससँगै उनी च्याम्पियन्स लिग र युरोपियन कपको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा संयुक्त रूपमा पाँचौं स्थानमा उक्लिएका छन्।
अब उनीभन्दा अगाडि करिम बेन्जेमा (९० गोल), रोबर्ट लेवान्डोस्की (१०९ गोल), लियोनेल मेस्सी (१२९ गोल) र क्रिस्टियानो रोनाल्डो (१४० गोल) मात्र रहेका छन्। एम्बाप्पेले १४२ खेलमा ७१ गोल गरेका पूर्व रियल म्याड्रिड स्टार राउलको कीर्तिमानी गोल संख्यासँग बराबरी गरेका हुन्।
रियल म्याड्रिडका लागि २३ औं मिनेटमा कप्तान फेडेरिको भाल्भर्डेले दोस्रो गोल थपे। इन्टरका स्पेनिस गोलकिपर जोसेप मार्टिनेजले बेन्जामिन पाभार्डको ब्याक पास नियन्त्रणमा लिन नसक्दा भाल्भर्डेले बल खोसेर सहजै गोल गरेका थिए।
मंगलबार (सेप्टेम्बर ८) का खेलको नतिजा:
• एथेन्स १ - ० लाश्क
• क्लब ब्रुग २ - ३ एस्टन भिल्ला
• बोरुसिया डर्टमण्ड ३ - २ भिल्लारियल
• लिले २ - ३ रियल बेटिस
• पोर्टो ० - २ म्यानचेस्टर सिटी
• रियल म्याड्रिड २ - १ इन्टर मिलान