युरोपियन च्याम्पियन्स लिगको नयाँ सिजनको सुरुआती साताका खेलहरूमा नेपालका बाढीपीडितप्रति गहिरो ऐक्यबद्धता जनाउँदै विशेष सम्मान व्यक्त गरिएको छ।
युरोपियन फुटबल महासङ्घ (युइएफए) को निर्णयअनुसार मंगलबार रातिका सम्पूर्ण खेलहरूअघि बाढीपीडितको सम्झनामा एक मिनेट मौनधारण गरिएको छ। यस्तै बुधबबार पनि यसको निरन्तरता हुनेछ।
मंगलबार राति भएका खेलहरूमा मैदानभित्र ‘यु आर नट अलोन नेपाल’ (नेपाल, तिमी एक्लो छैनौ) लेखिएको विशेष ब्यानर प्रदर्शन गरिएको थियो ।
यसअघि युइएफएका अध्यक्ष अलेक्सान्डर चेफेरिनले एक वक्तव्य जारी गर्दै नेपालमा गएको बाढी र त्यसले पुर्याएको क्षतिप्रति गहिरो दुः ख व्यक्त गरेका थिए।
चेफेरिनले भनेका छन्, ‘यस साता खेलहरूअघि सम्पूर्ण युरोपियन फुटबल परिवार एकजुट भएर नेपाली जनताप्रति हार्दिक संवेदना र समर्थन व्यक्त गर्दछ। यस त्रासदी र यसपछिको कठिन परिस्थितिबाट पार पाउन नेपाली जनतालाई धैर्य र शक्ति मिलोस् भन्ने कामना गर्दछौँ।’
मंगलबार राति सम्पन्न खेलअघि क्लब ब्रुग, एस्टन भिल्ला, रियल म्याड्रिड, इन्टर मिलान, लास्क, पोर्टो, म्यानचेस्टर सिटी, बोरुसिया डर्टमण्ड, भिल्लारियल, लिले र रियल बेटिसका खेलाडीहरूले मैदानमा पङ्क्तिबद्ध भएर एक मिनेट मौनधारण गरेका थिए।
युइएफएका अनुसार यस हप्ता सञ्चालन हुने च्याम्पियन्स लिगका बाँकी खेलहरूमा पनि बाढीपीडितप्रति सम्मान र समर्थन जनाउन मौनधारण गर्ने र ऐक्यबद्धताको ब्यानर प्रदर्शन गर्ने कार्यलाई निरन्तरता दिइनेछ।