अमेरिकी क्लब इन्टर मायमीका अर्जेन्टाइन स्टार फुटबलर लिओनल मेसीले स्पेनको दोस्रो डिभिजनको फुटबल क्लब सिडी एल्डेन्सेको १०० प्रतिशत सेयर खरिद गर्ने सैद्धान्तिक सहमति गरेका छन्।
भविष्यमा स्पेनको क्याटालोनियामा बस्ने योजना बनाएका मेसीको यो कदमले स्पेनिस फुटबलमा उनको व्यापारिक उपस्थिति अझ मजबुत बनाउनेछ।
प्राविधिक तथा वित्तीय जाँच प्रक्रिया सकिएपछि कुनै तेस्रो पक्षको संलग्नताबिना नै मेसीले क्लबको शतप्रतिशत सेयर आफ्नो नाममा गर्नेछन्।
यो खरिद प्रक्रिया अहिले स्पेनको उच्च खेलकुद परिषद्बाट औपचारिक अनुमोदनको पर्खाइमा रहेको छ।
अलिकान्तेमा अवस्थित यस क्लबलाई अक्टोबर २०२५ मा पास्कुआल पेरेजबाट खरिद गरी व्यापारी जुआन कार्लोस ट्रुहियोको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय लगानी समूहले चलाइरहेको थियो।
अर्जेन्टिनी लगानीकर्ता रिकार्डो पिनीले १२ मिलियन युरोको प्रस्ताव राखे तापनि मेसीको अचानक आगमनले वार्तालाई अर्कै मोड दियो र उनी क्लबको स्वामित्व लिने होडमा अगाडि आए।
यसअघि मेसी परिवारले स्पेनको पाँचौँ डिभिजनको क्लब युई कोर्नेला खरिद गरिसकेको छ। यसबाहेक मेसीले आफ्ना निकट मित्र लुइस सुआरेजसँग मिलेर उरुग्वेको क्लब डेपोर्टिभो एलएसएम खरिद गरेका छन् भने उनका भाइ माटियास मेसी लायन्सएफसी को अध्यक्षका रूपमा कार्यरत छन्।
अहिले एल्डेन्से क्लब मैदानभित्र कठिन परिस्थितिबाट गुजरिरहेको छ]। सुरुआती चार खेलबाट मात्र २ अंक जोडेपछि क्लबले मुख्य प्रशिक्षक क्लाउडियो बारगानलाई बर्खास्त गरेको छ। नयाँ प्रशिक्षकको खोजी भइरहेका बेला मेसीको मुख्य सेयरधनीका रूपमा आगमनले क्लबलाई वित्तीय स्थायित्व र स्पष्ट रणनीतिक दिशा दिने अपेक्षा गरिएको छ।