म्यानचेस्टर युनाइटेडका डिफेन्डर लिसान्द्रो मार्टिनेजले क्लबको नेतृत्वको आलोचना गरेपछि माफी मागेका छन्। क्लबको व्यवस्थापनसँग छलफल गरेपछि अर्जेन्टिनाका सेन्टरब्याक मार्टिनेजले आफ्नो अभिव्यक्तिप्रति दुःख व्यक्त गरेका हुन्।
मंगलबार एट्लेटिको मड्रिडसँग च्याम्पियन्स लिगमा पराजित भएपछि मार्टिनेजले क्लबको नेतृत्वको आलोचना गरेका थिए। उनले मुख्य प्रशिक्षक माइकल क्यारिकलाई पर्याप्त खेलाडी नभएको टोलीको जिम्मेवारी दिइएको बताएका थिए।
क्लबसँगको छलफलपछि बिहीबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै मार्टिनेजले व्यवस्थापन र प्रशिक्षकसँग सकारात्मक कुराकानी भएको जानकारी दिए।
‘आज मैले क्लबको नेतृत्व र प्रशिक्षकसँग भेट गरेँ। हाम्रो कुराकानी निकै सकारात्मक रह्यो। मंगलबारको खेलपछि भएको घटनाबारे हामीले खुलेर आफ्ना विचार राख्यौँ,’ उनले भने।
उनले आफू निकै भावुक स्वभावको व्यक्ति भएको र फुटबललाई गम्भीर रूपमा लिने गरेको पनि बताए।
‘हारको निराशाका कारण मैले आफ्नो भावना व्यक्त गर्ने क्रममा गलत समय र स्थान रोजेँ। त्यसका लागि माफी माग्न चाहन्छु,’ मार्टिनेजले भने।
उनको अभिव्यक्तिका कारण क्लबले जरिवानासमेत तिराएको बताइएको छ।
प्रशिक्षक र खेलाडीको समर्थनमा बोले पनि व्यवस्थापनमाथि उठाएका थिए प्रश्न
एट्लेटिको मड्रिडसँगको हारपछि २८ वर्षीय मार्टिनेजले म्यानचेस्टर युनाइटेडले खेलाडीमा अझ बढी लगानी गर्नुपर्ने बताएका थिए। उनले क्लबका प्राविधिक निर्देशक जेसन विल्कक्सबाट पनि अझ बढी अपेक्षा गरेको बताएका थिए।
पछि उनले आफूले रिस र निराशाका कारण त्यस्तो अभिव्यक्ति दिएको स्वीकार गरेका थिए। उनले आफ्ना साथी खेलाडी, प्रशिक्षक र क्लबलाई अगाडि बढाउन काम गरिरहेका सबैप्रति विश्वास रहेको बताएका थिए।
बिहीबारको वक्तव्यमा उनले क्लब एकजुट हुँदा नै उत्कृष्ट हुने उल्लेख गरेका छन्।
‘हाम्रो क्लब सबै एकजुट हुँदा उत्कृष्ट अवस्थामा हुन्छ। त्यसबेला मैले बोलेका कुराले एकता कायम गर्न सहयोग गरेनन् भन्ने कुरा मैले बुझेको छु,’ उनले भने।
‘म्यानचेस्टर युनाइटेडका प्रत्येक व्यक्ति क्लब र समर्थकले चाहेको सफलता हासिल गर्न सक्दो प्रयास गरिरहेका छन् भन्ने मलाई थाहा छ। अब यो विषयलाई पछाडि छाडेर हामी सबै मिलेर जित हासिल गर्ने लक्ष्यमा केन्द्रित भएका छौँ,’ उनले थपे।
म्यानचेस्टर युनाइटेडका पूर्वकप्तान रोय किनले पनि आफ्नो पुरानो क्लबको पछिल्लो अवस्थालाई ‘तमासा’को संज्ञा दिएका थिए।
लिड्सविरुद्ध खेल्छन् त मार्टिनेज?
प्रशिक्षक माइकल क्यारिकले शुक्रबार पत्रकार सम्मेलन गर्नेछन्। त्यसपछि युनाइटेडले आइतबार लिड्स युनाइटेडसँग खेल्नेछ। उक्त खेलमा मार्टिनेजलाई टोलीमा समावेश गरिन्छ वा गरिँदैन भन्ने अझै निश्चित छैन।
यस सिजन युनाइटेडले नौ खेलमध्ये केवल दुई खेलमा जित हासिल गरेको छ। टोली ६ खेलबाट ६ अंकसहित प्रिमियर लिगको १३औँ स्थानमा रहेको छ।
मार्टिनेजको पछिल्लो अभिव्यक्तिसम्बन्धी विवाद तत्कालका लागि टुंगिएको मानिए पनि क्लबमा उनको भविष्य भने अन्योलमा छ।
उनको वर्तमान सम्झौता यस सिजनको अन्त्यसँगै सकिँदै छ। तर, युनाइटेडसँग सम्झौता थप एक वर्ष लम्ब्याउने विकल्प छ। क्लबले उक्त विकल्प प्रयोग गर्ने वा नगर्ने निर्णय भने गरिसकेको छैन।