फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्व फुटबलको सर्वोच्च निकाय फिफाको व्यावसायिक अधिकार निजी लगानी कम्पनीलाई दिने प्रस्तावका विषयमा फिफा काउन्सिलसँग माफी मागेका छन्।
तर, प्रस्तावसम्बन्धी कागजात सार्वजनिक गरी उठेका प्रश्नको स्पष्ट जवाफ नदिए उनी फिफा अध्यक्ष बन्न योग्य नहुने चेतावनी दिइएको छ।
बिहीबार स्विट्जरल्यान्डको ज्युरिखमा बसेको फिफा काउन्सिल बैठकमा इन्फान्टिनोले आफ्नो गल्ती स्वीकार गर्दै सञ्चार र परामर्श प्रक्रियामा कमजोरी भएकोमा माफी मागेका थिए।
उनले विवादित प्रस्ताव कार्यान्वयन गर्ने अन्तिम निर्णय नभइसकेको र सदस्य राष्ट्रका फुटबल संघलाई थप आर्थिक सहयोग गर्न सकिन्छ कि भन्ने उद्देश्यले प्रस्ताव ल्याइएको दाबी गरे। तर, त्यसबारे पर्याप्त छलफल नगरेको विषयमा उनले माफी मागेका हुन्।
‘फिफा फरवार्ड इन्टरप्राइज’ (एफएफई) नामको उक्त प्रस्तावअनुसार फिफाको व्यावसायिक अधिकारको केही हिस्सा निजी लगानी कम्पनीलाई दिने योजना थियो। विवाद बढेपछि इन्फान्टिनोले केही दिनमै प्रस्ताव फिर्ता लिएका थिए।
बैठकपछि फिफाको भिडियो सन्देशमार्फत बोलेका इन्फान्टिनोले उठेका प्रश्नको लिखित जवाफ पछि दिने बताए। तर, उनले सञ्चारमाध्यमसँग प्रत्यक्ष कुरा गर्न र प्रश्नको सामना गर्न भने अस्वीकार गरे।
इंग्ल्यान्ड फुटबल संघकी अध्यक्ष तथा फिफाकी उपाध्यक्ष डेबी हेविटले बैठकमा धेरै प्रश्नको जवाफ नपाएको बताइन्। उनले एफएफई प्रस्तावसम्बन्धी कागजात माग्दा पनि उपलब्ध नगराइएको भन्दै असन्तुष्टि जनाइन्।
हेविटले भनिन्, ‘यदि इन्फान्टिनोले अहिले उठेका प्रश्नको जवाफ दिँदैनन् भने उनी फिफा अध्यक्ष बन्न योग्य छैनन्।’ उनका अनुसार प्रस्ताव किन र कसरी अघि बढाइयो, त्यसमा संलग्न व्यक्तिको भूमिका के थियो र भविष्यमा उनीहरूमाथि विश्वास गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा कागजात सार्वजनिक भएपछि मात्रै स्पष्ट हुनेछ।
इन्फान्टिनोमाथि अमेरिकी खेलाडी फोलारिन बालोगुनको रातो कार्डपछि लागेको प्रतिबन्ध स्थगित गरिएको विषय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रदान गरिएको ‘फिफा शान्ति पुरस्कार’ का विषयमा पनि प्रश्न उठेका थिए।
विश्व फुटबलको युरोपेली निकाय यूईएफए इन्फान्टिनोको सबैभन्दा कडा आलोचकका रूपमा देखिएको छ। उसले इन्फान्टिनोलाई पद छाड्न पटक–पटक आग्रह गरेको छ। एफएफईसम्बन्धी सबै कागजात सार्वजनिक गराउन यूईएफएले अमेरिकाका तीन अदालतमा कानुनी दाबीसमेत दर्ता गराएको छ। इन्फान्टिनोविरुद्ध फौजदारी कानुनी प्रक्रिया अघि बढाउने तयारी पनि गरिएको बीबीसीले जनाएको छ।
बालोगुनको प्रतिबन्ध स्थगित गरिएको घटनापछि फिफाको अनुशासन नियम परिवर्तन गर्ने प्रस्ताव पनि काउन्सिलमा प्रस्तुत भएको थियो। प्रस्तावअनुसार रातो कार्ड पाउने खेलाडीलाई लाग्ने स्वतः एक खेलको प्रतिबन्ध अनुशासन समितिले स्थगित गर्न नपाउने व्यवस्था गर्न खोजिएको छ। फिफाको कानुनी समितिले यस विषयमा समीक्षा गरेर डिसेम्बरमा काउन्सिललाई जानकारी दिनेछ।
ट्रम्पलाई शान्ति पुरस्कार दिने निर्णयबारे पनि अनुसन्धान हुने भएको छ। फिफाको सामाजिक समितिले पुरस्कार कसरी र कसको निर्णयमा दिइयो, दिनु उचित थियो कि थिएन र भविष्यमा यसलाई निरन्तरता दिने, परिवर्तन गर्ने वा हटाउने भन्ने विषयमा अध्ययन गरेर डिसेम्बरमा प्रतिवेदन बुझाउनेछ।
हेविटले फुटबलभन्दा बाहिरका चर्चित व्यक्ति र विशिष्ट पाहुनालाई प्राथमिकता दिँदा फिफाका २११ सदस्य संघको महत्त्व घटेको भन्दै आलोचना गरिन्। उनका अनुसार खेलको मैदानमा हुने निर्णयलाई राजनीतिक वा अन्य प्रभावले निर्देशित गर्न थाले फुटबलको प्रतिष्ठामै गम्भीर असर पर्छ।
यसैबीच, इन्फान्टिनो आगामी मार्चमा तेस्रो कार्यकालका लागि फिफा अध्यक्षमा पुनः निर्वाचित हुन प्रतिस्पर्धा गर्ने तयारीमा छन्। सन् २०१९ र २०२३ मा उनी निर्विरोध निर्वाचित भएका थिए। यसपटक उनलाई चुनौती दिन सक्ने बलियो उम्मेदवार भने अहिलेसम्म देखिएको छैन।
पूर्व टोटेनहम तथा स्विट्जरल्यान्डका डिफेन्डर रामोन भेगाले उम्मेदवारी दिने बताएका छन्। तर, उम्मेदवारीका लागि आवश्यक पाँच सदस्य संघको समर्थन जुटाउन र बलियो प्रतिस्पर्धी बन्न उनलाई कठिन हुने अनुमान छ। यूईएफएका केही वरिष्ठ अधिकारीले आर्सनलका पूर्वप्रशिक्षक आर्सेन वेंगरलाई उम्मेदवार बन्न आग्रह गरिरहेका छन्। तर, वेंगरले आफ्नो उम्मेदवारीबारे निर्णय गरिसकेका छैनन्।
उम्मेदवारी दर्ताको अन्तिम मिति नोभेम्बर १८ हो। हेविटका अनुसार फिफा अध्यक्षको निर्वाचनमा फरक योजना र विचार प्रस्तुत गर्ने प्रतिस्पर्धी हुनु आवश्यक छ। उनले फुटबललाई पहिलो प्राथमिकता दिने, विश्व फुटबललाई एकताबद्ध गर्ने र आवश्यक सुधार गर्न सक्ने नेतृत्व चाहिएको बताइन्।
उनले भनिन्, ‘आजको बैठक एउटा निर्णायक मोड हो। अगाडि बढ्नका लागि हामीले विगतमा के भयो भन्ने कुरा बुझ्नैपर्छ।’