एल क्लासिकोमा किलियन एमबाप्पेले दुई गोल गरेपछि रियल मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ। एमबाप्पेले खेलको ८७औँ मिनेटमा निर्णायक गोल गर्दै रियललाई जित दिलाए।
खेलको ४१औँ मिनेटमा एमबाप्पेले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। बार्सिलोनाका डिफेन्डर जेरार्ड मार्टिनले क्लियर गर्न खोजेको बल एमबाप्पेलाई लाग्दै गोल भएको थियो।
६१औँ मिनेटमा राफिन्हाले पेड्रीको पासमा गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए। तर, खेल सकिन तीन मिनेट बाँकी रहँदा जुड बेलिङघमको उत्कृष्ट मुभपछि वैकल्पिक खेलाडी एडुआर्डो कामाभिंगाले उपलब्ध गराएको पासमा एमबाप्पेले खाली पोस्टमा गोल गर्दै रियलको जित सुनिश्चित गरे।
रियलका गोलकिपर एन्ड्री लुनिनले पनि उत्कृष्ट प्रदर्शन गरे। पहिलो रोजाइका गोलकिपर थिबाउ कोर्टुवाको अनुपस्थितिमा खेलेका उनले बार्सिलोनाका जेरार्ड मार्टिनको खतरनाक हेडरलाई एक हातले बचाउँदै टोलीको जितमा महत्वपूर्ण योगदान दिए। रियलले निलम्बनमा रहेका भिनिसियस जुनियर र बिरामी कोर्टुवा बिना नै जित निकालेको हो।
यस हारसँगै बार्सिलोनाको स्पेनिस ला लिगामा सिजनको सुरुवाती लगातार नौ जितको कीर्तिमानभन्दा अघि बढ्ने सपना अधुरै रह्यो। सन् १९६८–६९ मा रियल मड्रिडले बनाएको लगातार नौ जितको कीर्तिमान बराबरी गरेको बार्सिलोना त्यसलाई तोड्न असफल भयो।
सन् २०२४ मा पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट रियल आएयता एमबाप्पेले सात एल क्लासिकोमा आठ गोल गरिसकेका छन्। उनले यस सिजन ला लिगामा १०औँ र ११औँ गोल गरेका हुन्। लिगमा उनीभन्दा बढी गोल राफिन्हा (१३) ले मात्र गरेका छन्।
लिगका १० खेलपछि बार्सिलोना २७ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा दुई अंकले अघि रहेको बार्सिलोनालाई हराएको रियल भने एक अंकले पछाडि रहँदै तेस्रो स्थानमा छ। रियलको २४ अंक र एट्लेटिकोको २५ अंक छ।