नेपाल प्रिमियर लिग (एनपिएल) मा आबद्ध पाकिस्तानी खेलाडीको सहभागितालाई लिएर अन्योल कायमै छ। पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) बाट एनओसी प्राप्त नभएपछि जनकपुर बोल्ट्सका दुई पाकिस्तानी खेलाडी इफ्तिखार अहमद र हुनेन शाह स्वदेश फर्किने तयारीमा छन्।
जनकपुर बोल्ट्सका अनुसार टोलीले दुवै खेलाडीका लागि एनओसी माग गर्दै पिसिबीलाई इमेल पठाएको थियो। तर, अहिलेसम्म त्यसको जवाफ प्राप्त भएको छैन। एनओसी उपलब्ध गराउन पिसिबीले कुनै रकम नमागेको पनि जनकपुरको भनाइ छ।
इफ्तिखार र हुनेन दुवै नेपाल आइसकेका भए पनि मंगलबार कर्णाली याक्सविरुद्धको खेलमा मैदान उत्रिएनन्। पिसिबीबाट आवश्यक स्वीकृति नआएपछि उनीहरूको खेल्ने विषय अन्योलमा परेको हो।
स्वीकृति प्राप्त हुने निश्चित नभएपछि दुवै खेलाडी फर्किने तयारीमा रहेका छन्।
यसअघि कर्णाली याक्समा आबद्ध पाकिस्तानी खेलाडी साहिबजादा फरहान पनि एनपिएल खेल्न नेपाल आएपछि स्वदेश फर्किएका थिए। उनको फिर्तीसँगै एनपिएलमा पाकिस्तानी खेलाडीको सहभागिताबारे प्रश्न उठेको थियो। कर्णालीले एनओसीका लागि पिसिबीले २५ हजार डलर मागेको सार्वजनिक भएको थियो।
यद्यपि, कर्णाली याक्सकै अर्का पाकिस्तानी खेलाडी हुसेन तलातले भने मंगलबार जनकपुर बोल्ट्सविरुद्ध खेलेका थिए।
पाकिस्तानी खेलाडीको सहभागिताबारे अन्योल कायमै रहँदा यसको प्रत्यक्ष असर फ्रेन्चाइज टोलीको खेलाडी व्यवस्थापन र मैदानमा उपलब्ध हुने खेलाडीको योजनामा पर्ने देखिएको छ। पिसिबीबाट आवश्यक स्वीकृति प्राप्त हुने वा नहुने भन्ने विषयले जनकपुरका इफ्तिखार र हुनेनको एनपिएल यात्राको टुंगो लगाउनेछ।