अर्जुन घर्तिमगरले अन्तिम ओभरमा आक्रामक ब्याटिङ गरेपछि पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनायो। अर्जुनले २५ बलमा अविजित ४० रन बनाएपछि पोखराले अन्तिम ओभरमा १५ रन जोड्दै सम्मानजनक योगफल तयार पारेको हो। उनले ४ चौका र १ छक्का प्रहार गरे।
पोखराको सुरुवात भने राम्रो हुन सकेन। दिनेश खरेल ४ रन बनाएर दोस्रो ओभरमा आउट भए। त्यसपछि मेहदी हसन र कप्तान कुशल भुर्तेलले दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे। मेहदी २१ बलमा ३२ रन बनाएर पाँचौँ ओभरमा आउट भए। उनले ४ चौका र १ छक्का प्रहार गरे।
कुशलले १७ बलमा २१ रन बनाए। उनी नवौँ ओभरमा दीपेन्द्रसिंह ऐरीको बलमा आउट भएपछि पोखरा ६८ रनमा तीन विकेटको अवस्थामा पुग्यो।
त्यसपछि शकिब अल हसन र सादिरा समराविक्रमा पनि लामो समय क्रिजमा टिक्न सकेनन्। शकिब १६ बलमा १४ रन बनाएर ११औँ ओभरमा अनिल खरेलको बलमा आउट भए। सादिरा ९ बलमा ८ रन जोडेर १३औँ ओभरमा पेभेलियन फर्किए। पोखराले ८३ रन पुग्दा पाँच विकेट गुमाइसकेको थियो।
धनञ्जय लक्षन र अर्जुनले छैटौँ विकेटका लागि ३२ रनको साझेदारी गर्दै टोलीलाई सम्हाल्ने प्रयास गरे। लक्षन १६ बलमा ११ रन बनाएर १७औँ ओभरमा रनआउट भए। त्यसको केही समयपछि किरण ठगुन्ना १ रनमा आउट हुँदा पोखरा ११७ रनमा सात विकेट गुमाएको अवस्थामा पुग्यो।
त्यसपछि अर्जुनले जिम्मेवारी सम्हाल्दै आक्रामक ब्याटिङ गरे। उनलाई विपिन खत्रीले अविजित ५ रन जोड्दै साथ दिए। अन्तिम तीन ओभरमा पोखराले २८ रन जोड्दा अर्जुनको योगदान निर्णायक बन्यो।
सुदूरपश्चिमका बलरमध्ये अनिल खरेल सबैभन्दा सफल रहे। उनले ३ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए। कप्तान दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २१ रन दिँदै एक विकेट लिए। हेमन्त धामीले ३ ओभरमा १४ रन खर्चेर एक विकेट लिए भने स्कट कुगेलेइनले ४ ओभरमा ४९ रन दिएर एक विकेट हात पारे।
पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले अब १४६ रनको लक्ष्य पछ्याउनेछ। पोखराका लागि भने यो सिजनको पहिलो खेल हो।