बंगलादेशका अनुभवी अलराउन्डर शकिब अल हसन विश्व क्रिकेटमा आफ्नो खेलका कारण परिचित छन्। भारतको आइपिएलदेखि विश्वभरका लिग खेलेका शकिब अहिले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपालमा छन्।
पोखरा एभेन्जर्सका विकेटकिपर ब्याटर अर्जुन घर्ती मगरका लागि शकिबको परिचय मैदानमा देखिने खेलाडीमा मात्र सीमित छैन। उनको सरल व्यवहार र खुलेर कुरा गर्ने शैलीले पनि अर्जुनलाई प्रभावित पारेको छ।
शकिबसँग ड्रेसिङ रुममा समय बिताउँदा अर्जुनले उनको फरक पक्ष अनुभव गरेका छन्। अर्जुनका अनुसार विश्व क्रिकेटमा लेजेन्डका रूपमा चिनिएका शकिब टोलीका अन्य खेलाडीलाई पनि आफ्नै भाइजस्तो व्यवहार गर्छन्।
‘सबैलाई थाहा छ, उहाँ लेजेन्ड मान्छे हुनुहुन्छ। उहाँसँग हरेक कुरा गर्न रमाइलो हुन्छ। विशेषगरी हिन्दी बोल्नुहुन्छ, त्यसैले पनि कुराकानी गर्न रमाइलो हुन्छ,’ अर्जुनले शकिबबारे भने।
अर्जुनका अनुसार शकिबको विशेषता आफूलाई लागेको कुरा खुलेर भन्नु हो। उनी कुराकानी गर्दा अनावश्यक रूपमा आफूलाई ठूलो देखाउने वा अरूलाई सानो व्यवहार गर्ने शैली अपनाउँदैनन्। बरु, टोलीका खेलाडीलाई भाइहरूजस्तै व्यवहार गर्छन्।
‘हामीले जे कुरा सोच्छौँ, उहाँले पनि त्यही कुरा मज्जाले भन्नुहुन्छ। एकदम तलमाथि गरेर होइन, सबैलाई भाइहरूजस्तै व्यवहार गरिराख्नुभएको छ,’ अर्जुनले भने।
विश्व क्रिकेटमा लामो समय बिताएका र अन्तर्राष्ट्रिय स्तरमा ठूलो अनुभव बटुलेका खेलाडीसँग एउटै टोलीमा खेल्नु नेपाली खेलाडीका लागि सिक्ने अवसर पनि हो।
शकिबजस्ता अनुभवी खेलाडीसँग ड्रेसिङ रुम बाँड्दा खेलसम्बन्धी अनुभव मात्र नभई उनको व्यवहार र खेलाडीहरूसँग घुलमिल हुने शैलीलाई नजिकबाट बुझ्ने अवसर मिल्छ।
एनपिएलको तेस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट खेलिरहेका शकिबले सुदूरपश्चिम रोयल्सविरुद्धको पहिलो खेलमा १६ बलमा १४ रन बनाएका थिए। उनले एक चौका प्रहार गरे।
बलिङतर्फ उनले ४ ओभरमा २४ रन खर्चेर एक विकेट लिए। खेलमा उनले प्रदर्शनसँगै कप्तान कुशल भुर्तेललाई निकै सहयोग गरेका थिए। फिल्ड सेट गर्नेदेखि बलरलाई टिप्स दिन शकिब निकै सक्रिय देखिन्थे।