नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जारी प्रतियोगितामा काठमाडौंले पहिलो खेल खेल्न लागेको हो।
पहिलो खेलमा जनकपुर भने कर्णाली याक्ससँग पराजित भएको थियो। त्यसैले जनकपुर दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ।
काठमाडौंले आजको खेलमा कप्तान करण केसीको नेतृत्वमा मैदान उत्रने ११ खेलाडीको टुंगो लगाएको छ। काठमाडौंको टोलीमा विदेशी खेलाडीका रूपमा रशिद खान, जहानदाद खान, स्यामुयल हिजलेट र रिपोन मोन्डोल छन्।
यद्यपि, काठमाडौंमा आबद्ध अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नर भने अझै टोलीमा जोडिन आइपुगेका छैनन्।
काठमाडौं गोर्खाजको प्लेइङ ११ मा करण केसी (कप्तान), भीम सार्की, रशिद खान, आदिल अन्सारी, शहाब अलाम, सुमित महर्जन, हरिशंकर साह, स्मित पटेल, जहानदाद खान, स्यामुयल हिजलेट र रिपोन मोन्डोल छन्।
जनकपुरले भने हर्मित सिंह, सइफ हसन, मोइन अली र कुशल परेरासहित चार विदेशी खेलाडीलाई प्लेइङ ११ मा समेटेको छ। टोलीमा ललित राजवंशी, अनिल साह, मयन यादव, अमरसिंह रटेउला, अभिषेक तिवारी, तृतराज दास र राहुल यादव पनि छन्।
जनकपुरका लागि आजको खेल पहिलो खेलको हार बिर्साउँदै जितको लय समात्ने अवसर हुनेछ भने काठमाडौं सुखद सुरुआत गर्ने लक्ष्यमा छ।


