नेपाली क्रिकेटमा नयाँ प्रतिभाको खोजी भइरहेका बेला जनकपुर बोल्ट्सका युवा मध्यम गतिका बलर राहुल यादवले आफ्नो क्षमताको प्रभावशाली नमुना प्रस्तुत गरेका छन्।
कक्षा ९ मा अध्ययनरत १६ वर्षीय राहुलले नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीबार काठमाडौं गोर्खाजविरुद्ध चार विकेट लिए।
यसअघि कर्णालीविरूद्धको डेब्यू एनपिएल खेलमा उनले १५ रन खर्चेर दुई विकेट लिएका थिए।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा काठमाडौंको ब्याटिङ धराशायी पार्ने क्रममा राहुलले चार ओभरमा ३१ रन खर्चिएर चार विकेट लिए। उनले साम हेजलेट, स्मित पटेल, कप्तान करण केसी र मोहम्मद आदिल आलमलाई आउट गरे। उनको प्रदर्शनले जनकपुरलाई काठमाडौंले दिएको ११६ रनको लक्ष्य पछ्याउन सहज बनायो। जनकपुरले आठ विकेटको जित निकाल्यो।
काठमाडौंविरूद्धको खेलपछि उनले पहिलो बलमै नै विकेट लिँदा आत्मविश्वास बढेको बताए।
'कर्णालीविरूद्धको पहिलो खेल एनपिएलमा मेरो पहिलो थियो। केही नर्भस थिए,' राहुलले भने, 'पहिलो खेलमा विकेट लिन सफल भएपछि आज त्यो डर भाग्यो। त्यसैले आज विकेट लिन सफल भए।'
जनकपुर बोल्ट्ससँगको कुराकानीमा उनले आफ्नो बुबाले क्रिकेट नबुझे पनि सपोर्ट गर्ने बताएका थिए।
मधेश प्रदेशको रौतहटस्थित चन्द्रपुरका राहुलले खुला मैदानबाट क्रिकेट खेल्न सुरु गरेका हुन्। चन्द्रपुर क्रिकेट एकेडेमीमा आफ्नो बलिङ कौशल निखारेका उनले कम उमेरमै आफ्नो गतिका कारण ध्यान आकर्षित गर्न थाले।
जनकपुर बोल्ट्सले आयोजना गरेको ट्यालेन्ट हन्टबाट छनोट भएका राहुल टोलीका आइकोनिक खेलाडीका रूपमा एनपिएलमा आबद्ध भएका हुन्। प्रतिभा पहिचान गर्ने प्रतियोगिताबाट ठूलो लिगसम्म पुग्नु उनको क्रिकेट यात्राको महत्त्वपूर्ण उपलब्धि हो।
एनपिएलअघि चन्द्रपुर क्रिकेट लिगमा पनि उनले प्रभावशाली प्रदर्शन गरेका थिए। उक्त प्रतियोगितामा म्यान अफ द म्याच बनेका राहुलले एनपिएलमा समेत आफ्नो क्षमता प्रमाणित गर्ने संकेत दिएका थिए।
एनपिएलमा कर्णाली याक्सविरुद्धको खेलमा राहुलले दुई विकेट लिएका थिए। त्यस प्रदर्शनले उनको बलिङ क्षमताबारे चर्चा सुरु गराएको थियो।
काठमाडौंविरुद्धको खेलमा भने उनले विकेट लिने क्षमतालाई अझ प्रभावकारी रूपमा प्रस्तुत गरे। शीर्षक्रमका ब्याटरलाई सुरुमै दबाबमा राखेका राहुलले यो सिजन राम्रो छाप छाड्ने संकेत गरेका छन्।