नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत लिग चरणको अन्तिम खेलमा विराटनगर किंग्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
लिग चरणको अन्तिम खेलमा दुवै टोलीले प्लेइङ–११ मा परिवर्तन गरेका छन्। लुम्बिनीले समिन हुसेनको स्थानमा अली शेखलाई टोलीमा समेटेको छ। यस्तै, विराटनगरले एन्जेलो म्याथ्युज र प्रतिश जिसीको स्थानमा शुभम् रन्जने तथा सुजन थपलियालाई मौका दिएको छ।
प्लेअफमा स्थान सुरक्षित गरिसकेको लुम्बिनी आजको खेलमा दबाबमुक्त हुनेछ। उसले ६ खेलबाट चार जित र एक खेलमा अंक बाँड्दै ९ अंक जोडेको छ। लुम्बिनी तालिकाको दोस्रो स्थानमा छ।
तर विराटनगरका लागि भने आजको खेल निकै महत्वपूर्ण छ। ६ खेलबाट ६ अंक जोडेर पाँचौं स्थानमा रहेको विराटनगरलाई प्लेअफ सम्भावना जीवित राख्न लुम्बिनीविरुद्ध जित्नैपर्ने दबाब छ। यद्यपि, जितले मात्र विराटनगरको प्लेअफ यात्रा सुनिश्चित गर्ने छैन। त्यसका लागि अन्य टोलीको नतिजा पनि अनुकूल आउनुपर्नेछ।
सातवटै खेल खेलिसकेको सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। अब बाँकी दुई स्थानका लागि काठमाडौं गोर्खाज, चितवन राइनोज र विराटनगर किंग्सबीच प्रतिस्पर्धा भइरहेको छ।
अन्तिम खेलअघि काठमाडौं ८ अंकसहित तेस्रो, चितवन ७ अंकसहित चौथो र विराटनगर ६ अंकसहित पाँचौं स्थानमा छन्।
काठमाडौंले आफ्नो अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ। काठमाडौं पराजित भए पनि उसको प्लेअफ सम्भावना कायम रहनेछ। तर चितवन र विराटनगरका लागि भने जित अनिवार्यजस्तै छ।
चितवनले अन्तिम खेलमा कर्णाली याक्ससँग खेल्दैछ भने विराटनगरले लुम्बिनीको सामना गरिरहेको छ। विराटनगरले जित निकाले पनि काठमाडौं र चितवनको नतिजा आफ्नो पक्षमा आउनुपर्नेछ।
तीनवटै टोलीका अन्तिम खेलको नतिजापछि प्लेअफ पुग्ने शीर्ष चार टोलीको टुंगो लाग्नेछ। आवश्यक परे नेट रनरेटले पनि प्लेअफ समीकरण निर्धारण गर्नेछ।

-1794653863.jpg)