नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत लिग चरणको अन्तिम खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनायो।
विराटनगरका लागि चरित असलंकाले सर्वाधिक ६४ रन बनाए। उनले ४३ बलमा १ चौका र ६ छक्का प्रहार गरे। उनले ३९ बलमा अर्धशतक पूरा गरेका थिए।
शुभम् रन्जनेले अविजित ३१ रन बनाए। उनले २४ बलमा ४ चौका प्रहार गरे। यस्तै, इमरान शेखले २९ बलमा २४ रन बनाए। उनी रन लिने क्रममा खुट्टामा समस्या आएपछि रिटायर्ड हर्ट भएका थिए।
इमरान रन लिने क्रममा मैदानमै लडेपछि उनलाई बेन्चका खेलाडीले बोकेर मैदानबाहिर लगेका थिए। उनले २४ रन बनाउँदा एक छक्का प्रहार गरेका थिए।
-1794660755.jpg)
लोकश बमले १५ तथा इसुरु उडानाले ६ रन बनाए। बासिर अहमद ६ रनमा अविजित रहे। शेहान जयसूर्याले १ रन बनाए।
विराटनगरको सुरुवात भने अपेक्षाअनुसार हुन सकेन। लोकश बम १७ बलमा १५ रन बनाएर किशोर महतोको बलमा आउट भए। पहिलो विकेटका लागि उनले इमरानसँग ३३ रनको साझेदारी गरेका थिए।
त्यसपछि असलंकाले इमरानसँग मिलेर दोस्रो विकेटका लागि महत्वपूर्ण साझेदारी गरे। असलंकाले आक्रामक ब्याटिङ गर्दै विराटनगरको रन गति बढाए। उनले १८औँ ओभरमा व्यक्तिगत ६४ रन बनाउँदा किशोर महतोको बलमा विकेट गुमाए। त्यसबेला विराटनगरको स्कोर १४५ रन पुगेको थियो।
असलंकाको विकेटपछि विराटनगरले थप दुई विकेट गुमायो। शेहान जयसूर्या १ र इसुरु उडाना ६ रनमा आउट भए। तर अन्तिम ओभरमा रन्जने र बासिर अहमदले अविजित रहँदै टोलीलाई १६६ रनसम्म पुर्याए।
लुम्बिनीका लागि किशोर महतोले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए। रुबेन ट्रम्पलम्यानले १ तथा अभिषेक गौतमले १ विकेट हात पारे।
खेलमा लुम्बिनीले असलंकाका दुई क्याच छाडेको थियो। रुबेन ट्रम्पलम्यान र आशिफ शेखले असलंकाको क्याच लिने अवसर गुमाएका थिए। दुवैले क्याच लिन खोज्दा सन्तुलन गुमाएपछि बल भुइँमा खसेको थियो। त्यसको फाइदा उठाउँदै असलंकाले अर्धशतकसहित महत्वपूर्ण इनिङ्स खेले।
लुम्बिनीका बलर ट्रम्पलम्यान महँगा सावित भए। उनले ४ ओभरमा ५२ रन खर्चिएर १ विकेट लिए। अभिषेक गौतमले ३ ओभरमा १५ रन दिए भने किशोर महतोले किफायती बलिङ गरे।
यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको लुम्बिनीका लागि यो खेल शीर्ष दुई स्थानमा पर्ने खेल हो। विराटनगरका लागि भने प्लेअफ यात्राका दृष्टिले निकै महत्वपूर्ण छ।
६ खेलबाट ९ अंक जोडेको लुम्बिनी तालिकाको दोस्रो स्थानमा छ। यता ६ अंकसहित पाँचौँ स्थानमा रहेको विराटनगरलाई प्लेअफ सम्भावना कायम राख्न जित आवश्यक छ। तर जितले मात्र विराटनगरको प्लेअफ यात्रा सुनिश्चित हुने छैन। काठमाडौं गोर्खाज र चितवन राइनोजको नतिजा पनि विराटनगरको पक्षमा आउनुपर्नेछ।
सुदूरपश्चिम रोयल्सले यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। बाँकी दुई स्थानका लागि काठमाडौं, चितवन र विराटनगरबीच प्रतिस्पर्धा छ।
काठमाडौं ८ अंकसहित तेस्रो र चितवन ७ अंकसहित चौथो स्थानमा छन्। काठमाडौंले पोखरा एभेन्जर्स तथा चितवनले कर्णाली याक्ससँग खेल्न बाँकी छ। विराटनगरले भने लुम्बिनीविरुद्धको खेल जितेर अन्य दुई टोलीको नतिजा कुर्नुपर्नेछ।
लिग चरणका अन्तिम खेलको नतिजापछि प्लेअफ पुग्ने चार टोलीको टुंगो लाग्नेछ। आवश्यक परे नेट रनरेटले पनि प्लेअफ समीकरण निर्धारण गर्नेछ।