नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ को लिग चरणका दुई खेल बाँकी रहँदा प्लेअफको समीकरण लगभग पूरा भएको छ। लुम्बिनी लायन्सले शीर्ष स्थान पक्का गरिसकेको छ।
अब पहिलो क्वालिफायरमा लुम्बिनीसँग प्रतिस्पर्धा गर्ने अर्को टोलीको टुंगो लाग्न बाँकी छ। त्यसका लागि काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।
लुम्बिनीले ७ खेलबाट ५ जित र एक खेलमा अंक बाँड्दै ११ अंक जोडेको छ। उसले एक खेलमा हार बेहोरेको छ। दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले पनि ७ खेलबाट १० अंक जोडेको छ। काठमाडौं गोर्खाज ६ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा छ भने चितवन राइनोज ७ अंकसहित चौथो स्थानमा छ।
अब काठमाडौंले पोखरा एभेन्जर्स र चितवनले कर्णाली याक्ससँग खेल्न बाँकी छ। यी दुई खेलले दोस्रोदेखि चौथो स्थानसम्मको समीकरण निर्धारण गर्नेछन्।
काठमाडौंले पोखरालाई पराजित गरेमा उसको १० अंक हुनेछ। त्यस अवस्थामा काठमाडौं र सुदूरपश्चिमको समान १० अंक हुनेछ। हाल काठमाडौंको नेट रनरेट ०.८८२ छ भने सुदूरपश्चिमको ०.१३५ छ। त्यसैले काठमाडौंले जित निकालेमा नेट रनरेटका आधारमा दोस्रो स्थानमा पुग्ने सम्भावना बलियो छ।
तर अन्तिम खेलपछि दुवै टोलीको नेट रनरेट गणना हुनेछ। दोस्रो स्थानमा रहने टोलीले लुम्बिनीसँग पहिलो क्वालिफायर खेल्नेछ भने तेस्रो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ।
काठमाडौं पोखरासँग पराजित भएमा भने उसको अंक ८ मै सीमित हुनेछ। त्यस अवस्थामा १० अंक जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुग्नेछ। काठमाडौंको अन्तिम स्थान भने चितवन राइनोजको नतिजाले निर्धारण गर्नेछ।
चितवनले कर्णालीलाई पराजित गरेमा उसको ९ अंक हुनेछ। काठमाडौं पराजित भएको अवस्थामा चितवन तेस्रो र काठमाडौं चौथो स्थानमा रहनेछन्। तर चितवन पनि पराजित भएमा काठमाडौं ८ अंकसहित तेस्रो र चितवन ७ अंकसहित चौथो स्थानमा रहनेछ।
काठमाडौंले पोखरालाई हराएको अवस्थामा भने चितवनको नतिजाले शीर्ष तीनको समीकरण बदल्ने छैन। काठमाडौं र सुदूरपश्चिम दोस्रो तथा तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् भने चितवन चौथो स्थानमा रहनेछ। चितवनले जिते पनि उसको अधिकतम अंक ९ मात्रै पुग्ने भएकाले शीर्ष दुईमा पुग्ने सम्भावना समाप्त भइसकेको छ।
यसअघि नै लुम्बिनी र सुदूरपश्चिमले प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन्। विराटनगर किंग्स लुम्बिनीसँग पराजित भएपछि काठमाडौं र चितवनको पनि प्लेअफ यात्रा निश्चित भएको हो। अब बाँकी दुई खेलले यी टोलीको स्थान मात्रै निर्धारण गर्नेछन्।
प्लेअफको पहिलो क्वालिफायरमा शीर्ष दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेता सिधै फाइनलमा पुग्नेछ। पराजित हुने टोलीले भने एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ। तेस्रो र चौथो स्थानमा रहने टोलीबीच एलिमिनेटर हुनेछ।
त्यसैले अब काठमाडौं र सुदूरपश्चिमको ध्यान दोस्रो स्थानमा केन्द्रित हुनेछ। पहिलो क्वालिफायर जितेमा सिधै फाइनल पुग्ने अवसर रहने भएकाले पोखरा र काठमाडौं तथा कर्णाली र चितवनबीचका खेलले प्लेअफको महत्वपूर्ण समीकरण तय गर्नेछन्।