काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि शनिबार साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने फाइनलमा लुम्बिनी लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ भने सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बन्ने दाउमा हुनेछ।
सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनल पुगेको हो। पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि जित्दै विगतका दुई फाइनलको हार बिर्सन चाहन्छ।
लुम्बिनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। पहिलो क्वालिफायरमा पराजित भए पनि दोस्रो अवसर पाएको सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो। यससँगै गत संस्करणको फाइनलमा भिडेका दुई टोली पुनः उपाधिका लागि आमनेसामने हुँदैछन्।
रनमा समरा, विकेटमा रिजन ढकाल अगाडि, फाइनलमा पुगेका दुवै टोलीका खेलाडीको औषत प्रदर्शन
फाइनलअघि प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी पोखरा एभेन्जर्सका युवराज समरा हुन्। उनले चार खेलमा एक शतक र दुई अर्धशतकसहित २९४ रन बनाएका छन्। ७३.५० को औसत र १७९.२६ को स्ट्राइक रेटमा ब्याटिङ गरेका समराको उच्च स्कोर १०२ रन हो।
सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा विराटनगर किंग्सका लोकेश बम दोस्रो स्थानमा छन्। उनले सात खेलमा २४२ रन बनाएका छन्। चितवन राइनोजका रवि बोपारा २३८ रनसहित तेस्रो र पोखरा एभेन्जर्सकै कुशल भुर्तेल २३५ रनसहित चौथो स्थानमा छन्। चितवनका डाविड मलानले २२० रन बनाएका छन्।
बलिङतर्फ चितवन राइनोजका रिजन ढकाल प्रतियोगिताकै सर्वाधिक सफल बलर हुन्। उनले १७ विकेट लिइसकेका छन्। उनको उत्कृष्ट प्रदर्शन १६ रन खर्चेर चार विकेट लिनु हो। चितवनकै कमलसिंह ऐरी र सुदूरपश्चिमका स्कट कुगेलेइनले समान १३ विकेट लिएका छन्।
जनकपुर बोल्ट्सका राहुल यादवले १२ विकेट लिँदा लुम्बिनीका शेर मल्लले ११ विकेट हात पारेका छन्। सुदूरपश्चिमका अनिल खरेल र लुम्बिनीका रुबेन ट्रम्पलम्यानले समान १० विकेट लिएका छन्। यसले फाइनलमा भिड्न लागेका दुवै टोलीको बलिङ आक्रमणमा पनि प्रभावशाली खेलाडी रहेको देखाउँछ।
लुम्बिनी : डिकवेला र शेर मल्लको प्रभाव
साविक विजेता लुम्बिनीको ब्याटिङमा श्रीलंकाली विकेटकिपर ब्याटर निरोशन डिकवेला पछिल्ला खेलमा प्रभावशाली देखिएका छन्। पहिलो क्वालिफायरमा सुदूरपश्चिमविरुद्ध अविजित ५९ रन बनाउँदै उनले टोलीलाई फाइनल पुर्याउन महत्त्वपूर्ण योगदान दिएका थिए। ३७ बलको सामना गरेका उनले सात चौका र दुई छक्का प्रहार गरेका थिए।
ओपनर डार्सी सर्ट र आसिफ शेखबाट भने लुम्बिनीले थप प्रभावकारी सुरुआतको अपेक्षा गर्नेछ। सर्टले प्रतियोगितामा १४८ रन बनाएका छन् भने कप्तान रोहित पौडेलको नाममा सात खेलबाट १२१ रन छ। मध्यक्रममा सन्दीप जोराको प्रदर्शन पनि टोलीका लागि महत्त्वपूर्ण हुनेछ।
बलिङमा शेर मल्ल लुम्बिनीका सबैभन्दा सफल खेलाडी हुन्। उनले ११ विकेट लिएका छन्। रुबेन ट्रम्पलम्यानले १० तथा किशोर महतोले नौ विकेट लिएका छन्। पहिलो क्वालिफायरमा शेर र ट्रम्पलम्यान दुवैले दुई-दुई विकेट लिँदै सुदूरपश्चिमको ब्याटिङलाई दबाबमा राखेका थिए।
फाइनलमा पनि लुम्बिनीको बलिङ आक्रमणको नेतृत्व शेर र ट्रम्पलम्यानले गर्नेछन्। सुरुआती ओभरमा विपक्षी ब्याटरलाई दबाबमा राख्नुका साथै मध्य ओभरमा विकेट निकाल्नु उनीहरूको प्रमुख जिम्मेवारी हुनेछ। किशोर महतोको अनुभव र नेपाली बलरहरूको साथले लुम्बिनीको बलिङलाई थप बलियो बनाउन सक्छ।
सुदूरपश्चिम : कप्तान ऐरीको प्रदर्शन निर्णायक
सुदूरपश्चिमको ब्याटिङमा कप्तान दीपेन्द्रसिंह ऐरी प्रमुख खेलाडी हुन्। उनले प्रतियोगितामा २१७ रन बनाएका छन्। पहिलो क्वालिफायरमा लुम्बिनीविरुद्ध ५२ रन बनाएका ऐरी दोस्रो क्वालिफायरमा चितवनविरुद्ध भने १५ रनमै आउट भएका थिए। फाइनलमा उनीबाट टोलीले जिम्मेवार इनिङ्सको अपेक्षा गर्नेछ।
पछिल्ला खेलमा थारिन्दु रत्नायके सुदूरपश्चिमका लागि निर्णायक खेलाडीका रूपमा देखिएका छन्। दोस्रो क्वालिफायरमा चितवनविरुद्ध ४२ बलमा अविजित ५३ रन बनाउँदै उनले टोलीलाई फाइनल पुर्याएका थिए। प्रतियोगितामा उनको कुल रन १२९ पुगेको छ। बलिङमा पनि उनले ६ विकेट लिएका छन्। ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सक्ने रत्नायके फाइनलमा सुदूरपश्चिमका महत्त्वपूर्ण खेलाडी हुनेछन्।
विकेटकिपर ब्याटर विनोद भण्डारीले पनि पछिल्लो खेलमा चितवनविरुद्ध १३ बलमा २३ रन बनाउँदै टोलीलाई योगदान दिएका थिए। इशान पाण्डेले प्रतियोगितामा १३२ रन बनाएका छन्। ओपनिङदेखि मध्यक्रमसम्मका ब्याटरले जिम्मेवारीपूर्वक खेल्न सके सुदूरपश्चिमको ब्याटिङ बलियो बन्न सक्छ।
बलिङमा न्युजिल्यान्डका स्कट कुगेलेइन सुदूरपश्चिमका सबैभन्दा सफल खेलाडी हुन्। उनले १३ विकेट लिएका छन्। अनिल खरेलले १० र हेमन्त धामीले सात विकेट हात पारेका छन्। दोस्रो क्वालिफायरमा चितवनविरुद्ध कुगेलेइनले तीन विकेट लिएका थिए भने रत्नायकेले पनि दुई विकेट लिँदै बलिङमा प्रभाव जमाएका थिए।
फाइनलमा कुगेलेइनको तीव्र गति र अनुभव सुदूरपश्चिमका लागि मुख्य हतियार बन्न सक्छ। अनिल खरेल र हेमन्त धामीले पनि लुम्बिनीको ब्याटिङलाई नियन्त्रणमा राख्नुपर्नेछ। विशेषगरी लयमा रहेका डिकवेला र कप्तान रोहितलाई छिट्टै आउट गर्न सके सुदूरपश्चिमले खेलमा पकड बनाउन सक्छ।
लुम्बिनीलाई उपाधि रक्षा गर्ने चुनौती, सुदूरपश्चिमलाई इतिहास बनाउने अवसर
यस संस्करणमा भएका आपसी भेट र पछिल्लो प्रदर्शनका आधारमा लुम्बिनी केही बलियो देखिन्छ। उसले लिग चरण र पहिलो क्वालिफायर दुवैमा सुदूरपश्चिमलाई पराजित गरेको छ। ब्याटिङमा डिकवेलाको लय तथा बलिङमा शेर मल्ल र ट्रम्पलम्यानको प्रभावकारी प्रदर्शन लुम्बिनीका बलिया पक्ष हुन्।
यद्यपि सुदूरपश्चिमलाई कमजोर आँक्न मिल्दैन। लगातार तेस्रो पटक फाइनल खेल्न लागेको टोलीसँग निर्णायक खेलको अनुभव छ। कुगेलेइनको बलिङ र रत्नायकेको पछिल्लो लयले टोलीलाई आत्मविश्वास दिएको छ। दोस्रो क्वालिफायरमा चितवनविरुद्ध कठिन परिस्थितिका बाबजुद जित निकाल्नुले पनि सुदूरपश्चिमको संघर्ष गर्ने क्षमता देखाएको छ।
लुम्बिनीका लागि लगातार दोस्रो पटक उपाधि जित्दै आफ्नो वर्चस्व कायम राख्ने अवसर छ। सुदूरपश्चिम भने तेस्रो प्रयासमा पहिलो पटक च्याम्पियन बन्न चाहन्छ। दुई फरक लक्ष्य बोकेका यी टोलीबीच शनिबार हुने फाइनलले एनपिएलको तेस्रो संस्करणको च्याम्पियन निर्धारण गर्नेछ।