‘एनवाइसी क्वीन्स कराते च्याम्पियनसिप’मा आयोजक निहोन कराते डोजो न्यु योर्कले दश स्वर्ण पदक जितेको छ।
विभिन्न राज्यका २३ डोजो/स्कुलका दुई सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेको न्यु योर्कको क्विन्समा आइतबार सम्पन्न च्याम्पियनसिपमा निहोनले थप १३ रजत र २० कांस्यसहित कुल ४३ पदक जित्यो।
क्विन्सको नर्दर्न बुलेभार्डस्थित एल्मकोर सेन्टरको हलमा पाँच रिङमा एकसाथ खेलाइएको च्याम्पियनसिपमा ड्रुक इन्टरनेसनल सितो–रियु कराते डो एसोसिएसन (डिस्का) ले ६ स्वर्ण, ४ रजत र १ कांस्यसहित ११ पदक जित्यो।
यसैगरी इजीएन इन्टरनेसनल कराते एण्ड फिट्नेस सेन्टरले पनि ६ स्वर्ण जित्यो। इजीएनले २ रजत र ४ कांस्यसहित कुल १२ पदक जित्यो।
च्याम्पियन स्पोर्ट्स सेन्टरले ५ स्वर्ण, ९ रजत र १४ कांस्य जित्दा लिनब्रुक अल्टिमेट मार्शल आर्ट्सले पनि ५ स्वर्ण, ५ रजत र ४ कांस्य जित्यो।
च्याम्पियनसिपमा न्यु योर्कसहित न्यु जर्सी, पेन्सिल्भेनिया, ओहायो, मेरिल्यान्ड, अलाबामा, भर्मन्ट र म्यासाचुसेट्सलगायतका राज्यका खेलाडीले भाग लिएका थिए।
बिगिनर र एड्भान्स गरी विभिन्न डिभिजनमा प्रतिस्पर्धा गराइएको थियो। च्याम्पियनसिपमा ५ वर्षदेखि ४५ वर्षसम्मका उमेर समूहका खेलाडीले ४७ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए।
विश्व कराते महासंघका रेफ्री रमन हिराल्डोको नेतृत्वमा ४१ जना रेफ्रीले च्याम्पियनसिप सञ्चालन गरेका थिए।

च्याम्पियनसिपको उद्घाटनका अवसरमा बोल्दै प्रमुख अतिथि न्यु योर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारीले यो कार्यक्रमले न्यु योर्क शहरमा नेपाली पहिचान प्रदर्शन गरेको बताए।
‘आज म खुसी छु, यो च्याम्पियनसिप आयोजना गर्नुभएकोमा शान्ता जीलाई धन्यवाद। म सबैलाई हार्दिक बधाई दिन्छु,’ महावाणिज्यदूत भण्डारीले भने, ‘यो नेपाली समुदाय र यस च्याम्पियनसिपमा सहभागी सबैका लागि साँचो सम्मान हो। नयाँ संसारको शहरमा यस्तो महान् कार्यक्रम आयोजना गर्नु।’
उनले कराते लगायत सबै खेलले समुदायलाई जोड्ने पनि बताए।
‘कराते र सबै खेलले हामीलाई हामी जे भए पनि जोड्छन्। हाम्रो पहिचानको वास्तविक भावना र हिमालय देश नेपालको समुदाय सदस्यका रूपमा। शान्ता थोकर र उहाँको टोलीले यो कार्यक्रम आयोजना गरेर न्यु योर्क शहरमा नेपाली पहिचान प्रदर्शन गरेका छन्,’ महावाणिज्यदूत भण्डारीले भने।
आयोजक निहोन कराते डोजोका सञ्चालक तथा प्रमुख प्रशिक्षक सिहान शान्त थोकरले च्याम्पियनसिपको सुरुवात घोषणा गर्दै सहभागी खेलाडी, प्रशिक्षक, रेफ्री, प्रायोजक तथा सहयोगी सबैलाई धन्यवाद दिएका थिए।
च्याम्पियनसिपमा एड्भान्सतर्फ स्वर्ण पदक विजेतालाई कुल दुई हजार अमेरिकी डलर नगद दामासाही रूपमा पुरस्कार प्रदान गरिएको थियो।
च्याम्पियनसिपको अघिल्लो दिन शनिबार सेमिनार आयोजना गरिएको थियो। सिहान थोकरका अनुसार सेमिनारमा २० जनाको सहभागिता थियो।

