केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले खेलाडी उत्पादनको उद्देष्यले ‘एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप’ आयोजना गर्ने भएको छ। यसमा काठमाडौं उपत्यका छनौट प्रतियोगिता आइतबार सुरु हुँदैछ ।
उपत्यका छनौट प्रतियोगिता थिमि, भक्तपुरस्थित मिड भ्याली सेकेन्डरी स्कुलमा दुई दिन सञ्चालन हुनेछ, जहाँ आठ स्कुलले नकआउटको आधारमा प्रतिस्पर्धा गर्नेछन् । काठमाडौं उपत्यका छनौटको विजेता टिम (स्कुल) राष्ट्रिय स्तरको एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिपको फाइनल चरणमा प्रवेश गर्नेछ ।
त्यस्तै, क्षेत्रीय स्तरमा छनौट प्रतियोगिता पोखरा, विराटनगर, बुटवल, धनगढी र जनकपुरमा पनि आयोजना गरिनेछ । प्रत्येक क्षेत्रका छनौटका विजेता गरी कुल ६ टिमले एनकेएल सिजन २ कै अवसरमा हुने एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिपको फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् ।
एनकेएल सिजन २ को तयारीमा रहेको एस्ट्रोनिक्स म्यानेजमेन्टले कबड्डीलाई ग्रासरुट स्तरबाटै विकास गर्ने प्रयासमा एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप आयोजना गर्न लागेको हो । यस प्रतियोगिताले नेपाली कबड्डी र एनकेएलप्रति आकर्षण बढ्ने आशा गरिएको एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले बताए । ग्रासरुटबाट उत्पादित खेलाडी नै व्यावसायिक लिगको लागि तयार हुने विश्वास गरिएको छ ।
बेगानी ग्रुपको एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी संघको स्वीकृतिमा केबी साम एनकेएलको पहिलो संस्करण गत वर्ष सफलतापूर्वक आयोजना गरेको थियो । उसले संघसँग १० वर्षे सम्झौता गरी फ्रेन्चाइज टिमको अवधारणामा एनकेएल सञ्चालन गरेको हो । अहिले दोस्रो संस्करणको तयारी भइरहेको छ । दोस्रो सिजनको केबी साम एनकेएलको लागि ५ सय १२ जना नेपाली खेलाडीले नाम दर्ता गरिसकेका छन्, जुन गत वर्षभन्दा झण्डै दोब्बर हो ।
राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित रोमान्चक फाइनलमा काठमाडौं माभरिक्सलाई ४३–४१ ले पराजित गर्दै जनकपुर नाइट्स एनकेएल च्याम्पियन भएको थियो । पहिलो सिजनका दुई कप्तान काठमाडौंका घनश्याम रोका मगर र हिमालयन रेइडर्सका गणेश पार्कीले भारतको प्रो कबड्डी लिग (पीकेएल) सिजन १२ खेलेका थिए । एनकेएल सिजन २ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै घोषणा गरिनेछ ।