काभा मेन्स भलिबल च्याम्पियनसिप २०२६ मा नेपालको खराब प्रदर्शन जारी छ।
लगातार चौथो खेलमा पराजय भोग्ने क्रममा नेपालले आइतबार बंगलादेशसँग ३-२ को सेटमा पछि पर्यो।
यो खेलमा पनि नेपालले अग्रता जोगाउन सकेन।
पाकिस्तानको इस्लामावादमा भइरहेको प्रतियोगितामा नेपालले आइतबार बंगलादेशविरूद्ध पहिलो सेट २५-१८ ले जितेको थियो।
दोस्रो सेटमा २५-१९ ले पछि परे पनि तेस्रो सेटमा नेपालले २५-२१ को जित निकालेर अग्रता लिएको थियो। तर चौथो सेटमा २५-२३ र निर्णायक पाँचौ सेटमा १५-११ ले पछि परेसँगै नेपाल लगातार चौथो खेलमा पराजित भयो।
यसअघि नेपालले पाकिस्तानविरूद्ध ३-० सेटमा हारेको थियो। त्यसअघि श्रीलंकासँग अग्रता जोगाउन नसक्दा ३-२ ले पराजित हुँदा काजखस्तानसँग पाँचौ सेटमा पराजित भएको थियो।
अब नेपालले लिगको अन्तिम खेलमा सोमबार उज्वेकिस्तानसँग खेल्नेछ।
उज्वेकिस्तानसँग पनि पराजित भएसँग नेपालले पाँचौ स्थानको लागि खेल्नु पर्नेछ।