अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा हुन लागेको सन् २०२६ को विश्वकप फुटबल नजिकिँदै जाँदा इरानको राष्ट्रिय फुटबल टोली अझै अमेरिकी भिसाको पर्खाइमा रहेको खुलेको छ।
मेक्सिकोस्थित इरानी राजदूत अबोलफजल पसान्दिदेहले इरान ‘समान अवस्था’मा विश्वकप खेल्न नपाएको गुनासो गर्दै टोलीले हालसम्म अमेरिका प्रवेशका लागि आवश्यक भिसा नपाएको बताएका छन्।
उत्तरी मेक्सिकोको सीमावर्ती शहर तिजुआना भ्रमणका क्रममा बोल्दै राजदूत पसान्दिदेहले इरानी टोलीको प्रशिक्षण शिविर अमेरिकाको एरिजोनास्थित टक्सनमा राख्ने प्रारम्भिक योजना भए पनि अहिले मेक्सिकोमै सारिएको बताए।
‘हामीलाई अझै थाहा छैन अमेरिकाले खेलाडीहरूलाई भिसा दिन्छ कि दिँदैन,’ उनको भनाइ उद्धृत गर्दै कतारी मिडिया अल जजिराले लेखेको छ।
तालिकाअनुसार इरानले जुन १५ मा लस एन्जलसमा न्युजिल्यान्डसँग, जुन २१ मा बेल्जियमसँग तथा जुन २६ मा सियाटलमा इजिप्टसँग खेल्ने कार्यक्रम छ। तर भिसा प्रक्रिया नै अनिश्चित बनेपछि इरानी टोलीको सहभागितामाथि थप प्रश्न उठ्न थालेको छ।
अमेरिका र इसराइलको हवाई आक्रमणमा इरानका शीर्ष नेता मारिएपछि दुई देशबीचको तनाव चर्किएको थियो।
त्यसयता इरानले अमेरिकामा हुने विश्वकप खेल्न सुरक्षाको चिन्ता व्यक्त गर्दै आफ्ना खेलहरू अमेरिकाबाट हटाएर मेक्सिकोमा सार्न फिफासँग आग्रह गरेको थियो।
तर फिफाले उक्त प्रस्ताव अस्वीकार गर्दै तय भएको तालिकाअनुसार नै खेल सञ्चालन हुने स्पष्ट पारेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एक उच्च दूत पाओलो जाम्पोलीले इरानको स्थानमा इटालीलाई विश्वकपमा सहभागी गराउनुपर्ने प्रस्ताव पनि अघि सारेका थिए।
चार पटकको विश्वविजेता इटाली यसपटक पनि छनोट हुन नसकेपछि ट्रम्प प्रशासनभित्र इटालीलाई ‘विशेष व्यवस्था’मार्फत विश्वकपमा ल्याउने प्रयास भएको थियो।
तर फिफाले इरानको सहभागितामाथि कुनै शंका नरहेको भनेको थियो।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले हालै वासिङ्टनमा आयोजित कार्यक्रममा इरानी टोली सहभागी हुने बताएका थिए।
‘खेलकुद राजनीतिभन्दा बाहिर हुनुपर्छ। हामी आशा गर्छौं कि विश्वकपसम्म स्थिति शान्तिपूर्ण हुनेछ, तर इरान खेल्न आउनै पर्छ,’ उनले भनेका थिए।
फिफाको नियमअनुसार छनोट चरण पार गरेर आएका टोलीलाई हटाउने निर्णय सहज छैन। कुनै देशले प्रतियोगिताबाट नाम फिर्ता लिए मात्रै त्यसको स्थानमा अर्को टोली राख्ने अधिकार फिफासँग हुन्छ। इरानले भने आफू विश्वकप खेल्न तयार रहेको बताउँदै आएको छ।
इरान र अमेरिकाबीच फुटबल मैदानमा पुरानो प्रतिस्पर्धा पनि छ।
सन् १९९८ को विश्वकपमा इरानले अमेरिकालाई २–१ ले पराजित गरेको थियो भने सन् २०२२ को विश्वकपमा अमेरिकाले इरानलाई १–० ले हराएको थियो।
जुन ११ बाट सुरु हुने सन् २०२६ को विश्वकपमा इरान समूह चरणका दुई खेल लस एन्जलस र एक खेल सियाटलमा खेल्ने तय छ। तर अमेरिकी भिसा प्रक्रिया टुंगो नलागेसम्म इरानी टोलीको यात्रा अन्योलमै रहने देखिएको छ।