ब्राजिलियन फुटबल स्टार नेयमार घाइते भएका छन्, जसका कारण उनले आगामी विश्वकपको पहिलो खेल गुमाउन सक्ने सम्भावना बढेको छ।
३४ वर्षीय नेयमारको दायाँ खुट्टाको मांसपेशीमा चोट लागेको छ। मेडिकल जाँच र एमआरआई रिपोर्टअनुसार उनलाई 'ग्रेड टु' को चोट लागेको पुष्टि भएको छ। यसको अर्थ उनको मांसपेशी आंशिक रूपमा च्यातिएको छ, जसलाई निको हुन कम्तीमा २ देखि ३ हप्ता लाग्नेछ।
आइतबार पानामा विरुद्ध र जुन ६ मा इजिप्ट विरुद्ध हुने मैत्रीपूर्ण खेलहरू उनले पक्का गुमाउनेछन्।
जुन १३ मा मोरक्को विरुद्ध हुने ब्राजिलको पहिलो विश्वकप खेलमा उनी उपलब्ध हुनेमा ठूलो आशंका छ।
यसअघि नेयमारको क्लब 'सान्तोस' का डाक्टरले चोट सामान्य सुन्निएको मात्र बताएका थिए। तर, ब्राजिल राष्ट्रिय टोलीका डाक्टर रोड्रिगो लास्मारले विस्तृत परीक्षणपछि चोट गम्भीर रहेको र यसलाई निको हुन समय लाग्ने स्पष्ट पारेका छन्।
ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीलाई खेलाडी व्यवस्थापनमा समस्या परेको छ। मे ३० मा हुने च्याम्पियन्स लिग फाइनल (आर्सनल विरुद्ध पिएसजी) का कारण आर्सनलका गेब्रियल र मार्टिनेली तथा पीएसजीका कप्तान मार्किन्होस पनि सुरुवाती मैत्रीपूर्ण खेलहरूमा उपलब्ध हुने छैनन्।
नेयमारले ब्राजिलका लागि १२८ खेलमा ७९ गोल गरिसकेका छन्। उनलाई चेल्सीका जोआओ पेड्रो र टोटनह्यामका रिचार्लिसन जस्ता खेलाडीलाई छाडेर टोलीमा छानिएको थियो।
यो नेयमारको चौथो विश्वकप हुनेछ (यसअघि २०१४, २०१८ र २०२२ मा सहभागी)। सन् २०१४ को विश्वकपमा पनि उनी ढाडको चोटका कारण प्रतियोगिताको बीचमै बाहिरिनु परेको थियो।