अमेरिकाले विश्वकपका लागि आउने इरानी प्रतिनिधिहरूको सुक्ष्म निगरानी राख्ने भएको छ।
अमेरिकी विदेशमन्त्री मार्को रूबिओले क्यापिटल हिलमा भएको एक संसदीय सुनुवाइमा इरानी प्रतिनिधिमाथि कडा निगरानी राख्ने बताएका हुन्।
उनले फुटबल खेल्न आउने टोलीसँग अमेरिकालाई कुनै समस्या नभएको पनि बताएका छन्।
'खेलाडी वा उनीहरूको सहयोगी टोलीसँग हामीलाई कुनै समस्या छैन,' रुबिओले भने, 'तर खेलकुदसँग कुनै सम्बन्ध नभएका र इस्लामिक रिभोलुसनरी गार्ड कोर्ससँग सम्बन्ध भएका व्यक्तिहरू प्रतिनिधिमण्डलमा नराखियोस् भन्ने चासो हो। त्यसबारे हामी नजिकबाट निगरानी गर्नेछौं।'
आगामी साता अमेरिकामा विश्वकप सुरू हुँदैछ। इरानी टोलीले भने अझै अमेरिकाको भिसा पाएका छैनन्।
रूबिओले भने इरानी टोलीले अमेरिकाको सट्टा मेक्सिकोमा बस्ने निर्णय गरेको पनि जानकारी दिएका छन्। खेलाडी र प्राबिधिक टोलीप्रति आफूहरूलाई कुनै
इरानी टोलीको प्रशिक्षण शिविर सुरुमा अमेरिकाको एरिजोनास्थित टक्सनमा हुने तय भएको थियो। तर अहिले त्यसलाई मेक्सिकोको तिहुआनामा सारिएको छ। यद्यपि इरानले आफ्नो समूह चरणका खेलहरू अमेरिकाको लस एन्जलस र सियाटलमा खेल्नेछ।
इरानी फुटबल संघका अध्यक्ष मेहदी ताजले बुधबारसम्म इरानी टोली मेक्सिको पुगिसक्ने भनेर इएसपिएनसँगको अन्तर्वार्तामा बताएका छन्।
त्यस्तै शुक्रबारसम्म अमेरिकाले भिसा दिने पनि उनले बताएका छन् ।
विदेशमन्त्री रूबिओले विश्वकप हेर्न अमेरिका आउने समर्थकहरूबारे पनि नयाँ व्यवस्था गरिएको बताए।
उनका अनुसार अमेरिका प्रवेशका लागि ती समर्थकहरूले विश्वकप खेलको टिकट खरिद गरेको प्रमाण देखाउनुपर्नेछ।
'तपाईंले टिकट किनेको प्रमाणित गर्नुपर्छ। सुरक्षा जाँच र अन्य प्रक्रिया यथावत् रहनेछन्, तर केवल खेल हेर्न आउँदैछु भन्नु मात्र पर्याप्त हुँदैन,' उनले भने।
रूबिओले विश्वकप तयारीबारे अमेरिकाले दैनिक रूपमा फिफासँग समन्वय गरिरहेको र भिसा तथा सुरक्षा प्रक्रियाबारे आफूहरू सन्तुष्ट रहेको पनि बताएका छन्।
तालिकाअनुसार इरानले जुन १५ मा लस एन्जलसमा न्युजिल्यान्डसँग, जुन २१ मा बेल्जियमसँग तथा जुन २६ मा सियाटलमा इजिप्टसँग खेल्ने कार्यक्रम छ। तर भिसा प्रक्रिया नै अनिश्चित बनेपछि इरानी टोलीको सहभागितामाथि थप प्रश्न उठ्न थालेको छ।
अमेरिका र इसराइलको हवाई आक्रमणमा इरानका शीर्ष नेता मारिएपछि दुई देशबीचको तनाव चर्किएको थियो।
त्यसयता इरानले अमेरिकामा हुने विश्वकप खेल्न सुरक्षाको चिन्ता व्यक्त गर्दै आफ्ना खेलहरू अमेरिकाबाट हटाएर मेक्सिकोमा सार्न फिफासँग आग्रह गरेको थियो।
तर फिफाले उक्त प्रस्ताव अस्वीकार गर्दै तय भएको तालिकाअनुसार नै खेल सञ्चालन हुने स्पष्ट पारेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एक उच्च दूत पाओलो जाम्पोलीले इरानको स्थानमा इटालीलाई विश्वकपमा सहभागी गराउनुपर्ने प्रस्ताव पनि अघि सारेका थिए।
चार पटकको विश्वविजेता इटाली यसपटक पनि छनोट हुन नसकेपछि ट्रम्प प्रशासनभित्र इटालीलाई ‘विशेष व्यवस्था’मार्फत विश्वकपमा ल्याउने प्रयास भएको थियो।
तर फिफाले इरानको सहभागितामाथि कुनै शंका नरहेको भनेको थियो।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले हालै वासिङ्टनमा आयोजित कार्यक्रममा इरानी टोली सहभागी हुने बताएका थिए।
‘खेलकुद राजनीतिभन्दा बाहिर हुनुपर्छ। हामी आशा गर्छौं कि विश्वकपसम्म स्थिति शान्तिपूर्ण हुनेछ, तर इरान खेल्न आउनै पर्छ,’ उनले भनेका थिए।
फिफाको नियमअनुसार छनोट चरण पार गरेर आएका टोलीलाई हटाउने निर्णय सहज छैन। कुनै देशले प्रतियोगिताबाट नाम फिर्ता लिए मात्रै त्यसको स्थानमा अर्को टोली राख्ने अधिकार फिफासँग हुन्छ। इरानले भने आफू विश्वकप खेल्न तयार रहेको बताउँदै आएको छ।
इरान र अमेरिकाबीच फुटबल मैदानमा पुरानो प्रतिस्पर्धा पनि छ।
सन् १९९८ को विश्वकपमा इरानले अमेरिकालाई २–१ ले पराजित गरेको थियो भने सन् २०२२ को विश्वकपमा अमेरिकाले इरानलाई १–० ले हराएको थियो।
जुन ११ बाट सुरु हुने सन् २०२६ को विश्वकपमा इरान समूह चरणका दुई खेल लस एन्जलस र एक खेल सियाटलमा खेल्ने तय छ। तर अमेरिकी भिसा प्रक्रिया टुंगो नलागेसम्म इरानी टोलीको यात्रा अन्योलमै रहने देखिएको छ।